भारतका प्रधानसेनापति नरवाणे कार्तिकमा नेपाल आउने



काठमाडौं : भारतका प्रधानसेनापति एम.एस. नरवाणे नेपाल आउने भएका छन् । उनी कात्तिक महिनाभित्र नेपाल आउने बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । यसको मिति भने टुंगो नलागेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायरथी सन्तोषवल्लभ पौड्यालले भारतका सेनापति नरवाणेको भ्रमण प्रक्रियाको पुनः थालनी भएको बताए । २० माघ २०७६ मा मन्त्रिपरिषद्को बैठकले जनरल नरवाणेलाई नेपाल भ्रमणको निम्तो दिने निर्णय भएको थियो ।

नेपाली सेनाले त्यतिबेला प्रक्रिया बढाएकोमा कोरोना भाइरसको जोखिमका कारण रोकिएको थियो । भ्रमण प्रक्रियालाई सेनाले पुनः थालनी गरेको छ । नेपाल र भारतबीच सीमा समस्या बल्झिएको अवस्थाबीच नरवाणेको भ्रमण हुन लागेको हो ।

कालापानीको विषयमा जनरल नरवाणेले दिएको अभिव्यक्ति विवादमा परेको थियो । दुई देशबीच बलियो सैन्य सम्बन्ध छ । एक अर्को देशको सेनापति मानार्थ प्रधानसेनापति रहने प्रचलन रहँदै आएको छ । एजेन्सी

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्