सर्वोच्चको प्राथमिकतामा परेन भ्रष्टाचारका मुद्दा



काठमाडौं : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पदभार गरेकै दिन भ्रष्टाचार मुद्दामा शून्य सहनशीलता अपनाउँछु भनेर प्रतिबद्धता जनाएको तीन महिना भयो । तर, उनको प्राथमिकतामा भ्रष्टाचार मुद्दा परेको पाइँदैन । 

१९ पुसमा पद बहाल भएयता उनले भ्रष्टाचार मुद्दाको पेसी तोक्ने गरे पनि स्थगितको सूचीले भने रेकर्ड बनाउँदै आएको छ ।

बिहीबार मात्रै भ्रष्टाचार र गैरकानुनीसम्बन्धी दुई दर्जन मुद्दाको पेसी चढ्यो । तर, अधिकांश कानुन व्यवसायीबाट मुद्दा स्थगित गराइएको छ । मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाले निरन्तरता पाएको छ ।

विशेष अदालत ऐन, २०५९ को दफा १६ (२) मा विशेष अदालतको निर्णयमाथि परेको पुनरावेदन मुद्दाको प्राथमिकताका साथ मिसिल प्राप्त भएको मितिले तीन महिनाभित्र किनारा गर्नुपर्ने भनिएको छ । तर, सर्वोच्चले मुद्दाको सुनुवाइ त परको कुरा मुद्दाको पेसी चढाउनेमा भने रेकर्ड कायम गरेको छ । मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाका कारण भ्र्रष्टाचार मुद्दाको चाङ सर्वोच्चमा थुप्रिएको छ ।

६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्र्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा पनि बिहीबार सरकार पक्षबाट स्थगित गरिएको छ । त्योसहित भ्रष्टाचारका दुई दर्जन मुद्दाको पेसीमा कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गराइएको छ । पक्ष र विपक्षी कानुन व्यवसायीका तर्फबाट पटकपटक मुद्दा स्थगित गराउने क्रम चल्दै आएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्