औलोको उच्च जोखिममा पहाडी जिल्ला, सात गुणाले बढ्यो संक्रमण



बाजुरा : बाजुरालगायत उच्च पहाडी जिल्लामा पछिल्लो समय औलो रोगको संक्रमण तीव्र रूपमा वृद्धि भएको एक तथ्यांकले देखाएको छ । तराईका जिल्लामा देखापर्ने रोगका रूपमा परिचित औलो उच्च पहाडी जिल्ला बाजुरा, मुगु र हुम्लालगायतका जिल्लामा देखापर्न थालेको हो ।

पहाडी जिल्लामा समेत औलो रोगको संक्रमण बढेपछि यसले चिन्ता बढाएको अधिकारीको भनाइ छ । बाजुरामा आर्थिक वर्ष २०७३/७४ औलोका संक्रमितको संख्या १४ भए पनि आर्थिक वर्ष २०७४/७५ मा बढेर ७४ पुगेको देखिएको छ । बिहीबार कोल्टीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको एक कार्यक्रममा बाजुरामा औलोको संक्रमण सातगुणाले बढेको बताइएको हो ।

इपिडिमियोलोजीका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले हिमाली र उच्च पहाडी जिल्लामा औलो अथवा मलेरिया हुँदैन भन्ने मान्यतालाई चुनौती दिएको बताए । पछिल्लो समय तीव्र रूपमा संक्रमण सरेको पाइनुले भविष्यमा खत्तरा निम्त्याउन सक्नेतर्फ संकेत गर्दै जनस्वास्थ्य अधिकृत कोइरालाले तिनै तहका सरकारले आवश्यक पहल गर्नुपर्ने बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार गत आवमा बाजुराको छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिकामा मात्र १७२ व्यक्तिमा औलोको संक्रमण भएको पाइएको थियो ।

मुगुको खत्याड गाउँपालिका र बाजुराका अन्य चारवटा स्थानीय तह एकआपसका जोडिएका र नजिक भएकाले औलोको संक्रमण तीव्र हुन सक्ने भन्दै अहिले विभिन्न कार्यक्रम ल्याइएको इपिडिमियोलोजी बाजुराका फिल्ड सुपरभाइजर योगेन्द्र जोशीले बताए । उनले बाजुराका औलो प्रभावित क्षेत्रमा स्प्रे छर्किने कामदेखि किटनाशक झुल वितरणसम्मका काम भइरहेको बताएका छन् ।

यसअघि पनि सन् १९६६ मा मुगु बाजुरालगायतका जिल्लामा औलोको संक्रमण देखिएकाले हेलिकोप्टरबाट विषादी झारेर छर्किएको थियो । त्यतिबेला पनि औलोको संक्रमण देखिएको भए पनि सरकारी अधिकारीको लापर्बाहीका कारण पहाडी तथा हिमाली जिल्लाले अहिले पनि औलोको जोखिम खेप्नुपरेको अधिकारीको भनाइ छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्