
काठमाडौं : कुनैपनि विश्वविद्यालयलाई दातृ निकाय वा विदेशी नियोग मार्फत भित्रिएको आर्थिक सहयोग कार्यकारी परिषदले स्वीकृत गर्नुपर्ने प्रावधानलाई लत्याउदै त्रिभुवन विश्वविद्यालय इरास्मर परियोजनाको नाममा आएको रकम एकलौटी रुपमा खर्च गरेको भेटिएको छ ।
त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधार्न दिएको सहयोग रकम परियोजना प्रमुखको रुपमा रहेकी रेक्टर प्राडा सुधा त्रिपाठीले खर्च गर्ने अधिकार लिएकी छिन् । त्रिभुवन विश्वविद्यालय ऐनका दफा १४ (घ) मा विश्वविद्यालयको लागि प्रदान गरिएका आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने उल्लेख गरेको छ ।
तर सो काम कर्तब्य र अधिकारको वर्खिलाभमा रेक्टर प्राडा त्रिपाठीले परियोजनाको रकम खर्च गरेकी छिन् । परियोजनाको अध्यक्ष एवं रेक्टर प्राडा त्रिपाठीले त्रिविमा यस्ता दर्जनौ परियोजना मनपरी रुपमा खर्च हुने गरेको तर्क राख्दै एउटै परियोजनाको विषयमा प्रश्न उठाउनु गलत भएको दाबी गरिन् ।
‘म मार्फत आएको परियोजनामा आफ्नो अधिकार हुनु स्वभाविक छ ,अन्य परियोजनाको विषयमापनि छानविन गर्नुपर्छ ।’ उनले भनिन्, ‘यो परियोजनाको विषयमा मात्र किन बढी हल्ला भयो । तर त्रिविको नियमममा जुनसुकै परियोजना ल्याउदा र रकम खर्च गर्दा कार्यकारी परिषदको स्वीकृत लिनुपर्छ ।’
त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाले परियोजनाको रकम ग्रहण गर्ने र खर्च गर्ने अधिकारी कार्यकारी परिषद्लाई भएको जानकारी गराउदै इरास्मस परियोजनको रकमको विषयमा कार्यकारी परिषदले कुनै निर्णय नगरेको स्पष्ट पारे । कार्यकारी परिषदमा त्रिविका तीन पदाधिकारी सहित ७ जना छन् । सो परियोजना इन्जिनियररिङ अध्ययन संस्थानमा पनि लागु छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।