साधारणसभामा गोल्छाको नामै उच्चारण गरिएन



काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघभित्रको राजनीतिले मानवीय संवेदनासमेत गुमाएको व्यवसायीहरुको गुनासो छ । राजधानीमा जारी महासंघको ५३ औं वार्षिक साधारणसभामा महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष दिवाकर गोल्छाप्रति श्रद्धान्जलीको एक शब्द पनि उच्चारण नगरिएपछि सो गुनासो आएको हो ।

हुन पनि बिहीबारदेखि राजधानीमा शुरू भएको महासंघको साधारणसभामा कुनै पदाधिकारीले गोल्छाप्रति श्रद्धान्जलीका एक शब्द खर्चेनन् । मृर्गौलाबाट पीडित गोल्छाको मंगलबार भारतमा निधन भएको थियो ।

महासंघका वर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका दिवाकरका पारिवारिक सदस्य शेखर गोल्छाले विभिन्न उद्योग वाणिज्य संघलाई सम्मान गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, उनी शोकका कारण कार्यक्रममा सहभागी भएनन् ।

शेखरले सम्मान गर्ने तालिका रहे पनि उनी अस्वस्थ रहेको वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताएका थिए । उनले पनि गोल्छा परिवारमा परेको शोकबारे कतै उल्लेख गरेनन् । 

महासंघमा गोल्छा समूहको महत्वपूर्ण योगदान रहे पनि उनको निधनप्रति कुनै शब्द उच्चारण नगर्नुलाई महासंघभित्रको राजनीतिले मानवीय संवेदना हराएको साधारणसभामा उपस्थित उद्योगी व्यवसायीले प्रतिक्रिया दिए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्