कोरोनाबाट ललितपुरमा हालसम्म ४८ जनाको मृत्यु



ललितपुर : ललितपुरमा सक्रिय संक्रमितको संख्या २ हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २ हजार ५०७ सक्रिय संक्रमित संख्या पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार १५८ र हालसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ६०३ पुगेको स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले बताए । उनले भने, ‘धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेकाले यहाँ दिनानुदिन संक्रमितको संख्या बढिरहेको देखिन्छ, सार्वजनिक यातायातमा हिँड्ने आधाजसो मानिसले मास्कको उचित प्रयोग नगर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि हेलचक्र्याइँ गरिरहेका छन् ।’

कोभिड संक्रमित स्वयंले सजक भएर घरमा एकान्तबास बसिदिँदा यसको न्यूनीकरण चाँडै हुने गेलालले जानकारी गराए । ललितपुर महानगरपालिकामा सक्रिय संक्रमित संख्या १ हजार ५८८ र मृतकको संख्या २७ पुगेको छ ।

ती मृतकको उमेर भने ५५ वर्षदेखि ६० वर्षमाथि रहेको प्रवक्ता राजु महर्जनले बताए । उनले भने, ‘यहाँ जम्मा संक्रमित संख्या ३ हजार ३४६ र डिस्चार्ज हुनेको संख्या १ हजार ७३१ रहेको छ ।’

कोरोना महामारी बढ्दै गइरहेकाले जनता स्वयं आफैं जिम्मेवार हुनुपर्ने महर्जनले बताए । ‘यहाँ होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन गर्न ग्राहो भइरहेको छ,’ उनले भने ।

यसैगरी महानगरपालिकामा पुरुषभन्दा महिला संक्रमित संख्या बढी छ । जसमा १ हजार ४८३ महिला र १ हजार ४०२ पुरुषले कोरोनाको प्रभाव झेलिरहेका र्‍यापीड रेसपोन्स टीमकी संयोजक देवी गुरुङले बताइन् । गोदावरी नगरपालिकामा सक्रिय संक्रमित संख्या १९४ र मृतकको संख्या ५ पुगिसकेको नगरपालिकाले जनाएको छ ।

गोदावरीमा कूल संक्रमित संख्या ३८१ र निको भएर डिस्चार्ज हुने संख्या १९९ पुगेको छ । गोदावरीले वडा नम्बर ६ टीकाभैरवको आनन्दवन अस्पताल तथा वडा नम्बर ११ को बज्रबाराही चापागाउँ अस्पतालमा आइसोलेसनको व्यवस्था गर्नुका साथै वडा नम्बर ४ बडिखेलको कोरियन होटलमा क्वारेन्टीनको पनि व्यवस्था गरिरहेको प्रवक्ता मिलन सिलवालले बताए ।

महालक्ष्मी नगरपालिकामा सक्रिय संक्रमित ३४७ र हालसम्म ३ नगरवासीले मृत्युवरण गरिसकेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए । उनले भने, ‘तीमध्ये होम आइसोलेसनमा ३२५ र अस्पतालको आइसोलेसनमा २२ व्यक्ति रहेका छन् ।’ महालक्ष्मीमा जम्मा संक्रमित संख्या ६०६ र यसमा स्वास्थ्य लाभ गर्ने २५६ रहेका पोखरेलले जानकारी गराए ।

नगरपालिकाभित्र कोरोना संक्रमित संख्या बढेसँगै आफूहरूले परीक्षणको दायरा बढाएको र निरिन्तर रुपमा सचेत पनि गराइरहेको नगर प्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, ‘संक्रमितको अवस्थालाई मध्यनजर गरेर नगरपालिका विभिन्न वडामा ८० शय्याको क्वारेन्टिनको व्यवस्था गरिरहेका छौं ।’

अक्सिजन अभावका कारण आइसोलेसनको भने व्यवस्था गर्न नसकेको श्रेष्ठले जानकारी गराए ।

महांकाल गाउँपालिकामा सक्रिय संक्रमित ५ र बाँकी ९ निको भएर डिस्चार्ज भइसकेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए । उनले भने, ‘यहाँ जम्मा संक्रमित संख्या १४ रहेका छन् ।’ रासस

प्रतिक्रिया दिनुहोस्