आलुको बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा



कैलाली : आलु रोप्ने समयमा बजारमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा परेका छन् ।

स्थानीय बजारमा पसलैपिच्छे फरक–फरक मूल्यका कारण किसान मर्कामा परेका हुन् । आलु बीउको मूल्य अत्यन्त महंगो भएपछि स्थानीय बजारमा पसलैपिच्छे फरक–फरक मूल्य भएका कारण किसान कुन पसलबाट बीउ किन्ने भन्ने अन्योलमा छन् ।

भारतीय सीमावर्ती बजारबाट आलुको बीउको आयातमा रोक लगाएपछि कैलालीको स्थानीय बजारमा यसको मूल्यमा अत्यन्त वृद्धि भएको किसानको गुनासो छ ।

कैलालीका बजारमा अहिले उन्नत आलुको बीउ प्रतिकिलो ९० देखि १०५ रुपैयाँसम्म बिक्री भइरहेका छन् । रातो र सेतो आलुको बीउ प्रतिकिलो ७५ देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ । गतवर्ष यही समयमा आलुको बीउ प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्म रहेको थियो ।

गत वर्ष ५ विघा क्षेत्रफलमा आलु खेती गर्दै आएका टीकापुर–१ बनगाँउका किसान बलिराम चौधरी यो वर्ष २ बिघा क्षेत्रफलमा मात्र आलु खेती गर्ने तयारीमा छन् । विगतका वर्षभन्दा यो वर्ष आलुको बीउ महंगो हुँदा उनले आलु खेतीको क्षेत्रफल नै घटाएको बताए ।

‘नेपालमा आलुको बीउको अभाव छ । यहाँको बीउले किसानको माग पूरा गर्न सक्दैन,’ उनले भने, ‘प्रतिकिलो सय रुपैयाँमा बीउ किनेर खेती गर्नुको कुनै फाइदा छैन् । पछि आलु उत्पादन राम्रो नभए ठूलो लगानी खेर जान्छ । त्यसैले आलु खेतीका लागि केही जमिन घटाएर त्यसमा अन्य तरकारी लगाउने योजना छ ।’

कैलालीका बजारमा पसलैपिच्छे फरक–फरक मूल्यका कारण पनि किसान मारमा पर्नुका साथै कुन पसलबाट आलुको बीउ किन्ने भन्ने अन्योलमा छन् । टीकापुर बजारमा आलुको बीउ किन्न आएका टीकापुरका खुशीराम चौधरीले आफू ५ वटा पसलमा गएको तर आलुको बीउको मूल्यमा एकरुपता पाउन नसकेको बताए ।

‘एउटै आलुको पसलैपिच्छे मूल्य फरक छ,’ उनले भने, ‘उपभोग्य वस्तुसहित फलफूल, तरकारीको प्रभावकारी अनुगमन गर्न नसक्दा आफूहरू चर्को मूल्य तिर्न बाध्य भएका छौं ।’

चौधरीले पनि गत वर्ष ४ बिघा क्षेत्रफलमा आलु खेती गरेका थिए । बीउ महंगो भएकै कारण यो वर्ष उनले पनि यसको क्षेत्रफल घटाएको छ ।

‘आलुको बीउ मात्र होइन, खेतीमा प्रयोग हुने रासायनिक मल समेत महंगो भएको छ,’ चौधरीले भने, ‘किसानका लागि आवश्यक बीउ र मल सहज पाउने वातावरण नै छैन । बीउ र मल खोज्न किसानलाई निकै सास्ती हुने गरेको छ । खेतीका लागि आवश्यक मलखाद्य, गुणस्तरीय बीउ, उपयुक्त प्रविधि र सिँचाइ सहज रुपमा उपलब्ध भए यसतर्फ किसानको आकर्षण बढ्छ ।’

विगतका वर्ष निर्वाध र सहज रुपमा भारतीय सीमा बजारबाट नेपाली किसानले आलुको बीउ ल्याउन पाउँथे । यो वर्ष नाका पूर्णरुपमा बन्द रहेकाले किसानलाई समस्या भएको हो । स्थानीय उत्पादनमा किसान भर पर्दा गत वर्षको तुलनामा आलुको बीउ अत्यन्त महंगो भएको टीकापुर–९ बनगाँउका किसान कृष्णगोपाल चौधरीको भनाइ छ ।

‘कृषिमा प्रोत्साहन गर्न स्थानीय सरकारले बीउ र मलमा अनुदान दिने नीति तथा कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने, ‘कोरोना महामारीपछि धेरै क्षेत्रजस्तै कृषिमा पनि ठूलो असर पारेको छ ।’

टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदीले कोरोना महामारीका कारण भएको बन्दाबन्दी र निषेधज्ञाले कृषि क्षेत्रलाई बढी असर पारेको बताए । ‘गर्मीमा तरकारी बारीमै सड्यो, अहिले बीउ र मल महंगो भएको छ,’ उनले भने, ‘कृषि क्षेत्रको व्यावसायिकीकरणका लागि स्थानीय सरकारले यसलाई विशेष प्राथमिकतामा राख्न सक्नुपर्दछ ।’ रासस

प्रतिक्रिया दिनुहोस्