नयाँ वर्षमा मदिरा



नयाँ वर्षको बहानमा होटल तथा रेस्टुराँ पुगेर मदिरा प्रयोग गर्ने ग्राहक अन्य समयको तुलनामा दोब्बर हुन्छन्। सामान्यताः बेलुका आउने ग्राहक मदिरा नपिउने प्रायः आउँदैनन्। जति ग्राहक बेलुकाको समयमा होटल तथा रेस्टुराँ पुग्छन् त्यसमध्ये अधिकांशको कुनै न कुनै प्रकारको मदिरा प्रयोग गर्ने भएकाले नयाँ वर्षको बहानामा मदिराको प्रयोग अन्य समयको तुलनामा दोब्बर हुने होटल संघ नेपाल (हान) अध्यक्ष विनायक शाह बताउँछन्।

ग्राहकलाई मदिरा पिउने एउटा बहाना मात्रै चाहिन्छ उनीहरू तयार भइहाल्छन्। पछिल्लो समय नेपालीको आर्थिक अवस्थामा आएको सुधार, अघिपछि नपिउने व्यक्तिले पनि नयाँ वर्ष र सप्ताहन्त वा कुनै पार्टी विशेष, साथीभाइसँगको रमाइलो वा कुनै प्रकारको नयाँ काम गर्दा होटल तथा रेस्टुराँ पुग्ने गर्छन्। वर्षमा एकपटक होस् वा हरेक सप्ताहन्तमा होटल पुग्ने ग्राहकले रमाइलोका लागि मदिरा प्रयोेग गर्छन्।

यसका कारण होटल तथा रेस्टुराँको अन्य आइटमको तुलनामा नयाँ वर्ष वा कुनै विशेष चाडपर्वमा मदिराको प्रयोग बढ्ने गर्छ। शाहका अनुसार सानातिना भोजभतेर सेवन नगर्नेले साथीभाइसँगको रमाइलो सेयरिङमा पिउन सक्छन्। कहिलेकाँही साथीलाई साथ दिने त अघिपछि एक पेक मात्रै रुचाउनेले यो समयमा चार पेक रुचाउन सक्छ। नयाँ वर्ष त एउटा बहाना मात्रै हो। यसले यो क्षेत्रका व्यापार व्यवसायमा पनि वृद्धि गरिहेको हुन्छ।

घरमै ल्याएर पिउनेभन्दा बाहिर गएर रमाइले गर्नेको जमात २० देखि ४५ वर्ष उमेर समूहका बढी हुन्छन्। यो उमेर समूहका व्यक्तिले आफै कमाउने र खर्चको जोहो गर्न सक्ने भएकाले पनि यो समूह कुनै नयाँ पर्व तथा उत्सावमा रेस्टुराँ तथा होटल जाने तथा पार्टीमा रमाउने गरेका छन्।

ग्राहकको चाहनाअनुसार होटल तथा रेस्टराँले सेवा मात्रै गर्ने हुन तर कति बेला पिउने भन्ने विषयमा भने कुनै सीमा नभएको रेस्टुरेन्ट व्यवसायीको भनाइ छ। वर्षमा एकपटक आउने नयाँ वर्षमा परिवारले एक दुर्ई हजारको बजेट नै छुट्याउने गरेका छन्। एक दुई हजार खर्च गर्छ भन्ने ग्राहक सामान्य रेस्टुराँमा पुग्छन् भने त्योभन्दा बढी रकम खर्च गर्न सक्नेले सोहीअनुसारको स्थान छनोट गर्ने रेस्टुरेन्ट एन्ड बार एसोसिएसनका अध्यक्ष प्रमोद जैसवाल बताउँछन्।

अहिले काठमाडौंमा मात्रै पर्यटकीय स्तरका करिब दुई हजारभन्दा बढी रेस्टुरेन्ट छन्। यी रेस्टुरेन्टमध्ये जुनसुकैमा पनि स्वेदशी तथा विदेशी ग्राहकले सेवा लिन लिइरहेको हुन्छन्। होटल तथा रेस्टुराँमा ग्राहक प्रवेश गरेपछि उसले होटलभित्रको गार्डेन, रूम, लबी जहाँ पनि बसेर खानपिन गर्न पाउँछ। होटल तथा रेस्टुराँमा आउने ग्राहकले ३० प्रतिशत लिक्वयर र बाँकी ७० प्रतिशत खानाका प्रकार रुचाउने व्यवसायी बताउँछन्।

-अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्