अन्तर्घात अन्त्य गरेर विश्राम लिन्छु : देउवा



काठमाडाैँ : कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तर्घातमुक्त पार्टी बनाएरै विश्राम लिने बताएका छन् । कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको बिहीबार पोखरामा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै उनले अन्तर्घात गर्नेलाई नछाड्ने बताए ।

‘हाम्रो पार्टीमा अन्तर्घात पुरानो रोग हो । यसलाई अन्त्य नगरी अगाडि बढ्न सकिँदैन,’ उनले भने, ‘हामीले अनुशासन पनि बनाएका छौं । बदमासी गर्नेलाई, अन्तर्घात गर्नेलाई छाड्नु हुँदैन ।’ आफूले टिकट नपाउँदा पार्टीलाई नै हराउने प्रवृक्तिबाट मुत्त नहुँदासम्म पार्टी अगाडि नबढ्ने उनले बताए । पार्टीले वैशाखदेखि नै देशभरि जागरण अभियान सञ्चालन गर्ने बताउँदै उनले सम्पूर्ण जनताको हृदय जित्ने गरी काम गर्न आग्रह गरे ।

उनले केपी ओली नेतृत्वको सरकार आएपछि अत्यधिक महँगी बढेको दाबी गरे । धान्नै नसक्ने कर लाद्नाले महँगी बढेको उनको भनाइ थियो । ‘यति कर बढाएका छन् कि एउटा जिल्लाबाट अर्को जिल्लामा लैजाँदा कुखुरामाथि पनि कर लगाएका छन्,’ उनले भने, ‘यति महँगी बढेको छ कि मान्छेलाई घर धान्नै मुस्किल परेको छ । यो सरकारको नाम करप्रसाद ओली नै राख्नुपर्ने ।’

उनले धेरै कुरामा सरकारले मनपरी गरेको समेत उल्लेख गरे । सुरक्षा परिषदको सिफारिसमा सेना परिचालन हुने भए पनि प्रधानमन्त्रीले सिधै हस्तक्षेप गरेको भन्दै उनले असन्तुष्टि जनाए । ‘सरकारले ब्युरोक्रेसीलाई पार्टीकरण गर्न खोज्यो,’ उनले भने, ‘निर्वाचन आयोगमा भन्दाभन्दै पनि नियुक्ति गरेरै छाडे । हाम्रो पार्टीले कुनै पनि हालतमा मान्नेवाला छैन ।’

 

प्रतिक्रिया दिनुहोस्