आईसीयू नहुँदा कोरोना संक्रमितको मृत्यु



बुटवल : बुटवलमा सघन उपचार कक्ष (आईसीयू) को अभावमा कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै सघन उपचार कक्ष बिरामीले भरिएका छन् ।

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा शय्या नपाएपछि दाङको बेलझुण्डी अस्पताल लैजाँदै गर्दा थप १ संक्रमितको बाटामै मृत्यु भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान–९ का ७३ वर्षीय पुरुषको दाङ लैजाने क्रममा बिहीवार बिहान पौने ८ बजे बाटोमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

अर्घाखाँचीबाट उपचारका लागि बुटवल आएका पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा गत मंगलवार रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उनको बुटवलमा सघन उपचार कक्ष शय्या नपाइएका कारण मृत्यु भएको छ । संक्रमित पुरुषको स्वास्थ्यमा बुधवार राति थप समस्या देखिएपछि अस्पतालले बेलझुण्डीस्थित कोरोना अस्पतालमा रेफर गरेको थियो ।

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया रहेको अस्पतालले जनाएको छ । असोज २१ गते अस्पताल भर्ना भएकी महिलाको बिहीवार बिहान सवा ९ बजे मृत्यु भएको डा। गौतमले जानकारी दिए ।

उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । महिलामा ज्वरो, दमलगायत समस्या रहेको अस्पतालको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्