पाकिस्तानी प्रधानमन्त्री खानले चीनकाे अाैपचारिक भ्रमण गर्ने



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने भएका छन् ।  

 

आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लागेका पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

 

खान प्रधानमन्त्री भएपछि उनकाे यो पहिलो चीन भ्रमण हुने भएको छ । उनको भ्रमण टोलीमा अन्य उच्च अधिकारी पनि सहभागी हुने भएका छन् । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उनकाे भ्रमणले दुई देशको सम्बन्ध थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । 

 

त्यसैगरी आपसी सहकार्य र सहयोग आदानप्रदानबारे पनि भ्रमणका क्रममा छलफल हुने विज्ञप्तिमा जनाइएको छ । भ्रमणका क्रममा खानले चिनियाँ नेताहरूसँग छलफल तथा भेटवार्ता गर्नुका साथै थुप्रै सम्झौतामा हस्ताक्षर पनि गर्ने मन्त्रालयले जनाएको छ । 

 

प्रधानमन्त्री खानले बेइजिङसँगै साङ्घाई पनि भ्रमण गर्ने बताइएकाे छ । उनले चीनमा रहँदा प्रथम चिनियाँ इन्टरनेसनल इम्पोर्ट एक्सपोर्टमा पनि सहभागिता जनाउनेछन् ।  

 

पाकिस्तानी उत्पादनहरूको समेत प्रदर्शन गरिने एक्सपोमा उनले मुख्य वक्ताको रूपमा सम्बोधन पनि गर्ने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्