यूरेका इन्टरनेशनल हाई स्कुलद्वारा लकडाउन अवधिको शुल्क मिनाहा



जनकपुरधाम : जनकपुरधामस्थित यूरेका इन्टरनेशनल हाई स्कुलले विद्यार्थीलाई लकडाउन अवधिको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।

विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी, तथा अभिभावकहरूको संयुक्त बैठकले कोरोना सङ्क्रमणको वर्तमान परिस्थितिमा विद्यालय सञ्चालन गर्न उपयुक्त नेदेखिएकोले छठ पर्वसम्म प्रतीक्षा गर्ने र उपयुक्त वातावरण देखिएमा छठ पर्व समाप्त भएको अघिल्लो दिन अर्थात् मंसिर ७ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो । 

साथै अभिभावक वर्गको आर्थिक अवस्थालाई ध्यानमा राख्दै विद्यालय सञ्चालन नभएको अवधिभरको विद्यार्थीसँग कुनै किसिमको शुल्क नलिने निर्णय समेत गरेको छ । लकडाउनपछि अनलाइन कक्षा चलाए पनि अभिभावकको चाहनाबमोजिम शुल्क मिनाहा गरिएको विद्यालयका सञ्चालक राजकुमार झाले बताए ।

सरकारले लकडाउन अवधिको शुल्क निर्धारणको जिम्मा सम्बद्ध स्थानीय तहहरूलाई दिएको छ । सोही बमोजिम छुट दिने निर्णय भएको यूरेका इन्टरनेशनल हाई स्कुलले जनाएको छ ।

अभिभावकहरूले समेत विद्यालयले शुल्क मिनाहा गर्ने निर्णय गरेपछि अभिभावकलाई धेरै सहयोग भएको बताएका छन् । अनलाइन कक्षामा चाहिने ल्यापटप, मोबाइल, नेटलगायत सामग्रीमा गरेको खर्च शुल्क मिनाहाले परिपूर्ति भएको अभिभावकहरूको भनाइ छ ।

मंसिर ७ गतेदेखि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन गर्नुका साथै सबै बिदाहरू कटौती गरी विद्यालय सञ्चालन हुने सञ्चालक झाले बताए । उनले यस शैक्षिक सत्रमा कुनै प्रकारको नामाङ्कन सुल्क समेत नलिने निर्णय गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्