वीरगंजको एक अपार्टमेन्टमा प्रहरीको छापा : २३ किलो सुन बरामद



वीरगंज : प्रहरीले पर्साको वीरगंजस्थित एक अपार्टमेन्टमा छापा मार्दा साढे २२ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट एसपी गंगा पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानिय गणेश अपार्टमेन्टमा छापा मार्दा लुकाई राखेको ठूलो मात्रामा सुन फेला पारेको हो।

वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोटी स्थित श्री गणेश अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्ल्याटमाबाट २२ किलो ५ सय ७६ ग्राम सुन फेला पारेको प्रहरीले जनाएको छ।

फ्ल्याट भारतको बिहार पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हाको भएको खुलेको छ।

No description available.

 प्रहरीले अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटबाट सुनको विस्कुट १ किलोको दरले १३ किलो, सुनको विस्कुट मझौला ५ एसटिईल ९९९९ गोल्ड लेखेको ४६ पिस ८ किलो ५७६ ग्राम र सानो १०० ग्रामको दरले १० पिस १ किलो गरी सुनकै विस्कुट २२ किलो ५७६ ग्राम बरामद गरिएको प्रहरी उपरीक्षक पन्तले बताइन् । 

त्यसैगरी सुनको तयार पारिएको विभिन्न गरगहना ६ सय ८१ ग्राम गरी जम्मा २३ किलो सुन र चाँदीको गरगहना तथा थाल लगायतका भाँडाकुँडा २ किलो २६२ ग्राम बरामद गरिएको पत्रकार सम्मेलनमा  प्रहरी उपरीक्षक गंगा पन्तले बताइन।

पन्तका अनुसार यो सुनका मालिक आउने सूचनाका आधारमा प्रहरी २÷३ दिनदेखि अपार्टमेन्टलाई प्रत्यक्ष प्रहरीको निगरानीमा राखेको थियो । तर फ्ल्याट मालिक नआएपछि आज स्थानीय भद्रभलाद्मी र वडा अध्यक्षकै रोहबरमा अपार्टमेन्टको फ्ल्याट नम्बर ३०३ खोलेर खानतलासी गर्दा सुन र चाँदी बरामद गरेको दाबी गरिन । 

भारतीय नागरिक भारत विहारको पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हाको फ्ल्याटबाट सुन बरामद भएको प्रहरीले नै पुष्टि गरेको हो । सिन्हा रक्सौल भन्सार कार्यालयका एजेन्ट पनि हुन । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पन्तले अपार्टमेन्ट गार्ड अनुसार फ्ल्याट सिन्हाको भनिएपनि यसबारे थप अनुसन्धान गर्ने काम भइरहेको उनले जानकारी गराइन । 

प्रहरीले फ्ल्याटबाट केहि महत्वपूर्ण काजगपत्र समेत बरामद गरे पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छैन । थप अनुसन्धान भइरहेकोले अन्य विषय अहिले नै बोल्न नमिल्ने उनले बताईन । श्रोत अनुसार प्रहरीले छापा मारी गर्ने क्रममा सुन सहित ६ करोड नगद र एक जना व्यक्तिलाई समेत पक्राउ गरे तापनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

वडा अध्यक्ष प्रदीप चौरसियाको रोहबरमा खानतलासी गरिएको भनिए वडा अध्यक्ष चौरसिया सँग थप जानकारी लिन उनको मोबाइलमा निरन्तर सम्पर्क गरे पनि सम्पर्क हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्