जनकपुर भिट्ठामोड सडक स्तरोन्नतिमा ढिलाइ, सर्वसाधारणलाई सास्ती



जनकपुरधाम : निर्माण कार्यमा ढिलाइ भएका कारण हुलाकी राजमार्ग अन्तर्गतको भारतीय सीमा जोडने जनकपुर भिट्ठामोड सडक खण्डमा स्थानीयलाई निकै सास्ती भएको छ । निर्माणको क्रममा रहेको सो सडक खण्ड सामान्य वर्षा हुने बित्तिकै हिलाम्मे हुन्छ भने घाम लागेको समयमा धुलाम्मे हुने गरेको छ । 

खाल्डाखुल्डी र सडक निर्माणका लागि थुपारिएको माटो नसम्याउँदै परेको पानीका कारण सो सडकमा सवारी साधन चलाउन निकै जोखिमपूर्ण भएको छ । यद्यपि, यो सडक निर्माण समयमै नसकिने निश्चित भएको छ । 

ठेक्का अवधि सकिन करिब ६ महिना मात्रै बाँकी हुँदा ४२ प्रतिशत काम सकिएको छ । सडक निर्माणमा लगातार आइपरेका अवरोधका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थित हुलाकी सडक कार्यालयले जनाएको हो । कार्यालयका प्रमुख राजेन्द्र दासले निर्माण सामाग्रीको अभाव, समयसमयमा भइरहने वर्षा र अन्य सानातिना समस्यालाई कारण देखाएर काम ढिलो भएको तर्क गरेका छन् । 

कार्यालयका साइटका इन्जियर सञ्जीव साहले एकतर्फी सडकमा ग्राभेल राख्ने काम ७५ प्रतिशत सकिएको र  केही ठाउँमा अझै माटो राखेर सम्याउने क्रममै रहेको जानकारी दिए । उनले निर्धारित समयभित्रै सम्पूर्ण काम सम्पन्न गर्न सम्भव नभएपनि ठेकेदारलाई दबाब दिइरहेको बताए ।

चार लेनको उक्त सडक निर्माणमा प्रतिभा वाई.पी.जे.भी र आशिष पप्पु रोशन जे भी संलग्न छन् । नेपाल सरकार र निर्माण कम्पनीबीच २०७३ साल भदौ २३ गते सम्झौता भएर १८ दशमलव ५६ किमी लम्बाइको यो सडक निर्माण सुरु गरिएको हो । 

गत जेठदेखि नै जिल्लाका स्थानीय तहले नदीजन्य वस्तु उत्खनन तथा ओसारपसारमा बन्देज लगाएकाले यसको असर सडक निर्माणमा परेको ठेकेदार कम्पनीको भनाई छ ।

सडक निर्माणका लागि जनकपुरको दूधमतीदेखि महोत्तरीको कुटमेश्वरी नदीसम्म करिब नौ किलोमिटर रू ४३ करोड ५४ लाख ७२ हजार ८७४ को लागतमा प्रतिभा वाई.पी.जे.भी.ले र कुटमेश्वरीदेखि भिठ्ठामोडसम्म आशिष पप्पु रोशन जे.भी.ले ४९ करोड ८९ लाख २० हजार ७०७ लागतमा सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो ।

४४ वर्ष पहिले बनाइएको सडकको स्तरोन्तिका लागि पटक पटक ठेक्का लागेपनि काम अघि बढ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्