सम्बन्ध विच्छेदमा पुरुषभन्दा महिला चारगुणा बढी



म्याग्दी : म्याग्दीमा सम्बन्ध विच्छेद गर्ने पुरुषभन्दा महिलाको संख्या चारगुणा बढी रहेको एक तथ्याङ्कले देखाएको छ । आधुनिक जिवनशैली, सहरी क्षेत्रमा बसाइँसराई, आर्थिक हिनामिना, कलिलै उमेरमा विवाह लगायतकारणले सम्बन्ध विच्छेद गर्नेको संख्या हरेक बर्ष बढ्ने गरेको हो ।

म्याग्दीमा भदौ यता ८५ जना महिलाले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरेकोमा ७५ वटा फछ्यौट भएका छन भने  पुरुषले २३ वटा दर्ता गरेकोमा ६ वटा फछ्यौट भएको जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले बताए ।

सम्बन्ध बिच्छेद गर्न आउनेहरुले चाहना र आवश्यकता पुरा नभएको भन्दै कानुनी प्रक्रियाबाट अलग हुन खोजेको बताउने गरेका छन् । ‘यो बाटो रोज्ने अधिकांश युवाहरु छन्, प्रमुख समस्या घरायसी नै देखिन्छ’ बुर्लाकोटीले भने ।

उमेर, प्रेम विवाह, श्रीमान बैदेशिक रोजगारमा गएका बेलामा परपुरुषसंगको सम्बन्धलगायतका कारण सम्बन्ध विच्छेदका लागि विवेदन पर्ने गरेको बुर्लाकोटीले बताए ।

घरेलु हिंसामा परेकी श्रीमतीले ज्यान जोगाउन समेत अदालतको साहरा लिनुपर्ने अवस्थाले पनि सम्बन्ध विच्छेदको घटना बढेको अधिवक्ता ठाकुरप्रसाद आचार्यले बताए । ‘विवाह गरेको केही महिनामै सम्बन्ध विच्छेदको बाटो रोजेको समेत देखिएको छ’ आचार्यले भने ।

उनले  ग्रामिण क्षेत्रमा कलिलै उमेरमा विवाह गर्ने, विवाहको केही महिनामै सम्बन्ध विच्छेदको बाटो रोज्ने गरेको बताए  । 

सम्बन्ध बिच्छेदको लागि निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउने प्रयास गर्ने र एकवर्षसम्म पनि मिल्न नसके सम्बन्ध विच्छेद भएको फैसला गरिदिन्छ । 

सम्बन्ध विच्छेदका घटनाले परिवार, सामाजिक र ब्यक्तिगत रुपमा समेत धेरै क्षती पुगेकाले जनचेतनामुलक कार्यक्रम सहित बाल विवाह रोक्ने अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

महिला अधिकारकर्मी अमृतदेवी बानियाँले बार्षिक करिव १ सयको हाराहारीमा सम्बन्ध विच्छेद हुनु डरलाग्दो भएको भन्दै न्युनिकरणको उपाय खोजी गर्नुपर्नेे बताइन् ।

रघुगंगा गाउँपालिकाकी उपाध्यक्ष कमला तिलिजाले हरेक वडामा सम्बन्ध विच्छेद र बालविवाहलाई न्यूनिकरण गर्न न्यायिक समिति सहित मेलमिलापका प्रतिनिधिहरुलाई समेत सक्रिय बनाउनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्