ब्रुमर नै दिर्घकालीन समाधान हो त ?  



काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकको धुलो बढारेर सहर र वातावरण सफा पार्न ब्रुमर चलाइरहेको छ। महानगरपालिकाले अत्याधुनिक यान्त्रिक कुचो अर्थात इटलीबाट ल्याइएका ब्रुमरबाट सडक सफा गर्न थालेको छ। 

हिउँदमा धुलो र वर्षायाममा हिलोबाट आजित भएका काठमाडौंवासीले यसबाट अलिकति भए पनि राहत पाउने भएका छन्। गत फागुन २८ मा ल्याइएका ५ बु्रमरले सहरका विभिन्न सडकको धुलो बढारिरहेको छ वा भनौं टिपिरहेको छ।

दैनिक ५ वाट ब्रुमरले तोकिएका सडकमा धुलो सफा गरिरहेका छन्। ५ ब्रुमरमध्ये ४ वटा १६ टन क्षमताका र एउटा ६ टन क्षमताको छ। ती ब्रुमरले दैनिक १० किलोमिटर सडकको धुलो संकलन गर्न सक्छन्।

यूरो मापदण्डका ती ब्रुमरमा अगाडि, बीचमा र पछाडि दायाँबायाँ दुवैतर्फ गरी प्लास्टिकका ४ ब्रससहित धुलो तान्ने शक्तिशाली पाइप जडान गरिएको छ। अहिलेसम्म १ सय २० टन धुलो बढारिसकेको (संकलन गरेको) महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

 

धुलो घट्ने आस

२५ वर्षदेखि काठमाडौंको तीनकुने सडकछेउ तरकारी बेचिरहेकी गंगा श्रेष्ठ यान्त्रिक कुचोले सफा गर्न थालेपछि सडकमा धुलो घट्नेमा आशावादी छन्। उनले भनिन्, ‘२५ वर्ष भयो यो सडकछेउमा तरकारी बेचेको, गाडी ओहोरदोहोर गर्दा बुङबुङती धुलो उड्छ। बिहान सेतो लुगा लाएर आयो भने त साँझ फर्कंदा कपडा नै कालो हुन्छ। अब मेसिनले सफा गर्छ अरे, केही कम होला नि बाबु।’ 

धेरैले धुलीमान्डुको संज्ञा दिएको काठमाडौंका सडक फेरि टलक्क टल्कनेमा अधिकांश सर्वसाधारण आशावादी छन्। ५ वर्षयता काठमाडौं बस्दै आएका राजु शर्मा पनि अब धेरै धुलो खान नपर्नेमा आशावादी छन्। ‘म त गाउँबाट आएको हरियो कतै देख्न नपाएर जताततै धुलो खाएर म त निसास्सिएरै मर्छु कि क्या हो जस्तो लागेको थियो, अहिले बानी परें’, उनले भने, ‘महानगरले ब्रुमर ल्याएको स्वागतयोग्य नै मान्नुपर्छ।’  

खाल्डाखुल्डी– ब्रुमरका लागि चुनौती

खाल्डाखुल्डीले महानगरका ब्रुमरलाई सडक सफा गर्न समस्या भएको छ। खाल्डाखुल्डी र भूकम्पमा भत्किएका संरचना पुनर्निर्माणले पनि समस्या भएको महानगरको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए। बु्रमरले सडक सफा गर्दा समस्या आएपछि खाल्डाखुल्डी पुर्न सडक विभागसँग महानगरले आग्रह गरेको छ। 

खाल्डाखुल्डी नभएसहजतापूर्वक नियमित काम हुने हुँदा तत्काल समस्या समाधान गरिदिन आग्रह गरेको छ। सडकको मुख्य स्थान न्युरोड, रत्नपार्क, जमल, कालीमाटी, कलंकी, पुतलीसडक, बिजुलीबजारलगायत स्थानमा खाल्डाखुल्डी धेरै भएकाले महानगरले विभागसँग पुर्न आग्रह गरेको वातावरण विभाग प्रमुख श्रेष्ठले बताए। 

ब्रुमरचालक अमन राईका अनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन। बटुवाले फालेका चक्लेट, चाउचाउ र बिस्कुटका खोल र प्लास्टिकका टुक्रा तान्यो भने ब्रुमर जाम हुन्छ। 

ब्रुमर दिर्घकालीन समाधान होइन 

राजधानीमा धुलो प्रमुख समस्या बनेको छ। काठमाडौं धुलोमय हुनुको मुख्य कारण मेलम्ची खानेपानी आयोजनाले पानी वितरणका लागि पाइप बिछ्याउन खनेका सडक नै हुन्। भत्काइएका ती सडक घामलाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुन्छन्। 

विकास प्रयासमा सरकारी निकायबीच नै समन्वय नहुँदा जथाभावी सडक खन्ने र अलपत्र छाड्ने समस्या छ। धुलोले ५ सय मिटर परसम्म असर पार्ने सर्वसाधारण बताउँछन्। धुलो नियन्त्रण गर्न समयमै खाल्डाखुल्डी पुर्ने, सम्बन्धित निकायबीच समन्वयमा काम गर्ने, शाखा सडकलाई विभिन्न चरणमा मूल सडकमा जोडिएको स्थानबाट कालोपत्रे गर्दै गए धुलो नियन्त्रण हुन्छ। 

धुलो नियन्त्रणमा ब्रुमर प्रयोग गर्दै गए काठमाडौंलाई धुलोमुक्त बनाउन सकिन्छ। तर ब्रुमर नै दिर्घकालीन समाधान नभएको वातावरणविद् डा.दिनेशचन्द्र देवकोटाले बताए। ‘ब्रुमर चलाउन थालेपछि सहर सफा हुन्छ भन्ने धेरैलाई लागेको छ’, उनले भने, ‘तर भएको धुलो नियन्त्रणमा आए पनि धुलोको मात्रा थपिएको थपिएकै छ। धुलो उड्न नदिन सडक सबैतिर राम्रोसँग बन्नु पनि जरुरी छ।’ 

उनले ब्रुमरले सफा गरे पनि दिर्घकालीन राष्ट्रिय नीति नै बनाउनुपर्ने बताए। उनले भने, ‘बढारेर ब्रुमरले धुलो हटाउनु ठीक भए पनि देश संघीय संरचनामा गइसकेकाले बाहिरबाट काठमाडौं आउन सर्वसाधारणलाई निरुत्साहित गर्नुपर्छ जसबाट काठमाडौं उपत्यकाका महानगर, उपमहानगर र नगरपालिकाहरूमा चाप घट्दै जान्छ।’ उनले सहर फोहोर हुनुमा जनसंख्या प्रमुख कारण रहेको भन्दै सफा बनाउन दिर्घकालीन योजना आवश्यक रहेको बताए । 

ब्रुमर नै समाधान : महानगरको दाबी

महानगरले ल्याएका ब्रुमरले न्यूनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइका सडक मात्र सफा गर्न सक्छन्। सफाइ गर्दा तिनको अधिकतम गति १० किलोमिटर प्रतिघण्टासम्म हुन्छ। महानगरले ५ वटा ब्रुमरलाई ५ वटा रुट निर्धारण गरेर सडकको धुलो बढारिरहेको छ। 

खनेका सडक तत्काल पुर्ने र सहायक सडक पनि धुलो र हिलोमुक्त हुने गरी स्तरोन्नति गर्ने हो भने ब्रुमर नै एक मात्र विकल्प भएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल दाबी गर्छन्।

उनले भने, ‘काठमाडौंलाई धुलोमुक्त बनाउने हो भने यान्त्रिक कुचो नै ल्याउनुपर्छ भनेर ब्रुमर ल्याएका हौं। दैनिक यसले सहज रूपमा काम गर्ने हो भने यसको अर्को विकल्प छैन।’ काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर नगर्न सबैसँग आग्रहसमेत गरेको छ। आफूले व्यवस्थापन गर्न सक्ने फोहोर घरमा नै व्यवस्थापन गर्न पनि उनले आग्रह गरे। 

 

प्रतिक्रिया दिनुहोस्