नेपालको विजयी सुरुवात, सिंगापुरमाथि शानदार जित



काठमाडौं : यु–१९ विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले शानदार विजयी सुरुवात गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा शुक्रबार सम्पन्न खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो।

नेपालले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ ओभरमा अलआउट हुँदै मात्र ६५ रन बनायो। सिंगापुरका लागि इशान सनेले सर्वाधिक २८ रन बनाए। उनले ५४ बलमा ४ चौका र १ छक्का हिर्काए।

त्यस्तै ओपनर साई वेनुगोपालले ४५ बलमा १८ रन जोडनु बाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। सिंगापुरलाई सस्तैमा समेटन नेपालका लागि सवन सर्राफले ३, कुशल मल्ल र सुर्य तामाङले २–२ तथा राशिद खानले १ विकेट चड्काए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २ सय ८३ रनको योगफल तयार पारेको थियो। सिंगापुरविरुद्ध बनाएको यो स्कोर यु–१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वाधिक ठुलो स्कोर हो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए।

शतक बनाउन मात्र ५ रनले चुकेका पौडेलले १०५ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए। खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो। तर, कप्तान रोहित कुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए। पवन ४७ रनमा आउट भए।

अर्धशतक बनाउन ३ रनले चुकेका पवनले ५३ बलमा ४ चौका र २ छक्का हिर्काए। त्यस्तै राशिद खानले ४७ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४८, कमल सिंह ऐरीले १८ बलमा १ चौका र ३ छक्काको सहायतामा ३१ तथा भिम सार्कीले १९ बलमा ४ चौका र १ छक्काको मद्दतमा २६ रन बनाए।

ओपनर ऋत गौतम १, आसिफ शेख ८, सन्दीप जोरा र सुर्य तामाङ समान शून्य र कुशल मल्ल १० रनमा आउट हुँदा सागर ढकाल शून्य रनमा नटआउट रहे। सिंगापुरका लागि आथर्भा गुनेले ४ विकेट लिए। ८ ओभर बलिङ गरेका गुनेले १ मेडन राख्दै ३७ रन खर्चिए।

यस्तै राहुल शर्मा र बिनित मेहेताले समान २–२ तथा प्रमेश सिंहहाभीले १ विकेट लिए। जितसँगै नेपालले महत्वपूर्ण २ अंक जोडेको छ। नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन्।

प्रतिक्रिया दिनुहोस्