
काठमाडौं : टीभी प्रसारणको अनुमति लिएका कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि इन्टरनेट सेवा प्रदायकहरू आन्दोलित भएका छन् । उनीहरुले नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तयारीलाई गलत भन्दै नेपाल दूरसञ्चार प्राधिकरणको प्रवेश द्वारमा धर्ना दिएका छन् ।
कानुन विपरित संचार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई दिने निर्णय गरेपछि त्यसको विरोधमा उत्रनुपरेको इन्टरनेट सेवा प्रदायक संघ, नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।
इन्टरनेट सेवा प्रदायक संस्थाहरुले आफूहरुले सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराईरहँदा पनि सरकारले विकल्प खोजेको भन्दै आक्रोश पनि व्यक्त गरेका छन । उनीहरुले इन्टरनेट सेवा आफूहरुबाट संचालन गर्ने कानुनी व्यवस्थाको उलंघन नगर्न सरकारलाई सचेत गराउँदै शुक्रबारनै नेपाल दूर संचार प्राधिकरणमा ज्ञापन पत्र पनि बुझाएका छन । संघका अध्यक्ष भट्टले सरकारले आफूहरुको माग सम्बोधन नगरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।