विद्यालयको लाखौ रकम हिनामिना : ढाकछोप गर्न ‘पत्रकार’! 



कैलाली : रकम हिनामिनाको आरोपमा विद्यालयबाट बर्खास्त भएका लेखापालले आफू बच्न पत्रकार बनेर अरुको चरित्र हत्या गर्दै आएको खुलेको छ।

कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ३ मा रहेको जगदम्भीके भगवती आधारभुत विद्यालयमा कार्यरत लेखापाल गोविन्द बिसीले विभिन्न सञ्चार माध्यमका परिचयपत्र देखाउँदै अरुको चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण गर्ने गरेको खुलेको हो।

बिसीले पत्रकार हुँ भन्दै स्थानीय सरोकारका विभिन्न क्लब, उपभोक्ता समितिमा सदस्य बसेर बार्गेनिङ गर्ने र कुरा नमिले समाचार सम्प्रेषण गर्ने गरेको स्थानीयले आरोप लगाउँदै आएका थिए।

स्थानीय साइनिङ स्टार युवा क्लबका एक पदाधिकारीले भने, ‘बिसीले क्लब दर्ता गर्दा सदस्य बने। क्लबले आयोजना गरेको भलिबल प्रतियोगिता गर्न खोज्दा बैठकमा पत्रकार हुँ भन्दै भत्ता समेत बुझे। नदिए झुटा समाचार सम्प्रेषण गरेर अरुको बदनाम गराउने कार्य गरे। सञ्चारमाध्यमको नाम लेखाएर ४ सय भत्ता लिए। धेरै माग्दै थिए हामीले दिन सकेनौं। त्यसपछि गलत समाचार सम्प्रेषण गरेर चरित्र हत्या गरे।’

बिसीलाई यसअघि आफ्नै प्रेस लेखेको गाडीमा वनबाट काठ ल्याउँदै गरेको अवस्था स्थानीयले समातेपछि म पत्रकार हुँ भन्दै उम्कीएको घट्ना समेत चर्चामा थियो। विद्यालयका बिसीले आफ्नो पदिय मर्यादाको दुरुपयोग गर्दै ५ लाख २३ हजार २ सय १० रुपैया ५ पैसा हिनामिना गरेको समेत आफैंले स्विकारेर तिर्ने सम्झौता समेत गरेका थिए।

बर्खास्त लेखापाल बिसीले आफ्नो तलबको चौमासिकबाट दुई पटक गरी २ लाख ५४ हजार विद्यालयलाई बुझाएका छन्। उनले आर्थिक वर्ष २०७४–०७५ को असार मसान्त पश्चात लेखापरीक्षण गर्दा पुरानो हिनामिना रकम बुझाउन बाँकी रहँदा रहँदै थप ९३ हजार रकम समेत हिनामिना गरेका थिए।

उनले हिनामिना गरेरको रकम ढाकछोप गर्नका लागि विगत ४ वर्षदेखि स्थानीय मिडियामा समेत काम गर्ने गरेको खुलेको छ। उनले विद्यालयमा पत्रकारको परिचयपत्र देखाएर रकम हिनामिना गर्दै आएका थिए। उनलाई विद्यालय ब्यवस्थापन समितिको बैठकले रकम बैंकमा मौज्दात गर्न चैत मसान्तसम्म समय दिएको थियो।

विद्यालयको सामाजिक लेखा परीक्षण समितिले बिसीले आर्थिक हिनामिना गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। लेखापरीक्षण समितिले आर्थिक वर्ष २०७४–०७५ पौष मसान्तसम्मको हर हिसाब परीक्षण गरी उल्लेखीत हिनामिना गरेको र तिर्न सुझाब दिएको थियो।

लेखापरीक्षणपछि बिसीले विद्यालयको खातामा रकम जम्मा गर्ने सहमति गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरीले बताए। यता बर्खास्त लेखापाल बिसीले आफूलाई नियोजित रुपमा फसाइएको बताएका छन्। उनले अघिल्लो वर्षको निर्णय गर्दा नै आफूलाई रकम दुरुपयोग गरेको हुँ भन्ने निर्णयमा जर्वजस्ती हस्ताक्षर गर्न लगाएको बताए।

बिसीले भने, ‘मलाई दोहोरो कारबाही भयो जर्वजस्ती तिर्न लगाएको रकम तिर्दा एक्कासी अभिभावक भेला बोलाएर निस्कासन गर्नु नियोजित षड्यन्त्र हो। छानविन गरेर मलाई न्याय दिलाउँनुपर्छ।’ 

प्रतिक्रिया दिनुहोस्