प्रशासनले बोका बली नगर्न भने पनि सामाजिक दूरी कायम गरी बलीका लागि तयार रहेको महावीर युवा कमिटीको भनाई



जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिरमा यसपालि बोका बलीको सट्टा कुभिन्डोको बलि प्रदान गर्ने निर्णय गरेको छ । 

जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरस सङ्क्रमणको जोखिम यथावतै रहेको कारण वर्षौँदेखि राजदेवी मन्दिरमा हुँदै आएको बोका बली प्रदान कार्यक्रम स्थगित गरी त्यसको सट्टा क्षमा पूजा गर्दै कुभिन्डो बलि प्रदान गर्ने निर्णय गरेको हो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले कोरोना सङ्क्रमणको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै बोका बली नहुने जानकारी दिए । मन्दिरमा बोका बली नहुँदा अनिष्ट हुने जनविश्वासको आधारमा यसपालि कुभिन्डोको बली प्रदान गर्दै राजदेवी मातासँग क्षमा पूजा गर्ने उनले बताए । 

यता, राजदेवी मन्दिरमा पूजाको व्यवस्थापन गर्दै आई रहेका स्थानीय महावीर युवा कमिटीका अध्यक्ष सन्तोष कुमार साहले कोरोना सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गर्दै आफूहरू बली प्रदानको लागि तयार रहेको बताएका छन् । 

No description available.

उनले भने,‘अधिकांश श्रद्धालुले बोका बलीका लागि बोका खरिद गरिसकेका छन् । उनीहरूलाई हामीले के गर्ने रु स्थानीयबासीहरु हामीकहाँ आएर बोका बलीका लागि आग्रह गरिरहेका छन् ।’
अध्यक्ष साहले भने,‘प्रसाद चढाउने श्रद्धालुहरू घटस्थापनाकै दिनदेखि दैनिक ५० हजारको सङ्ख्यामा मन्दिरभित्र प्रवेश गरिरहेका छन् । हामी त्यसलाई पनि व्यवस्थापन गरिरहेका छौँ । तर, १२ देखि १४ हजारको सङ्ख्यामा हुने बलि प्रदानका लागि स्थानीय प्रशासनले हामीलाई रोक लगाउनु ठिक लागेनन् ।’ 

No description available.

उनले प्रशासनले आदेश दिँदा आफूहरू चार वटा ठेहामा स्वयंसेवक परिचालन गरी सामाजिक दूरीलाई ख्याल गर्दै बोका बलीका लागि तयार रहेको बताए । बोका बलीमा रोक नै लगाउनु छ भने अहिले मन्दिरभित्र प्रसाद चढाउन दैनिक हजारौँको सङ्ख्यामा आउने श्रद्धालुलाई पनि रोक्नुपर्दथ्यो,उनले भने,‘बोका बली गर्नु छैन भने मन्दिरलाई सुरुकै दिनदेखि बन्द गर्दा पनि हुन्थ्यो ।’

यता, जिल्ला प्रशासन कार्यालय धनुषाले मन्दिरमा भिडभाड नगराउन सरोकारबालाहरुसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्