राजु सदाको मृत्यु घटना अध्ययन गर्न गठित समितिले प्रदेशसभामा बुझायो प्रतिवेदन



जनकपुरधाम : राजु सदाको मृत्यु सम्बन्धी अध्ययन विशेष समिति २०७७ ले प्रदेशसभामा आफ्नो प्रतिवेदन बुझाएको छ । आज (सोमबार) प्रदेशसभामा बुझाइएको प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुर, क्वारेन्टाइन स्थल र सामाजिक विकास मन्त्रालयबाट लापरवाही भएको उल्लेख छ ।

प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयसंग निरन्तर सम्पर्क गर्न खोज्दा फोन नउठेको र पत्र लेखि घटनाको सम्बन्धमा जानकारी माग गरिएकोमा सो सम्बन्धमा समेत कुनै जवाफ प्राप्त नभएको तथा कोरोना महामारीका कारण स्थापित गरिएको कोभिड अस्पतालको व्यवस्थापकिय पक्ष बलियो हुनुपर्ने र मानव स्वास्थ्य संवेदनशिलता प्रति गम्भीर रुपमा प्रस्तुत हुनुपर्नेमा मन्त्रालय सशक्त रुपमा प्रस्तुत हुन नसकेको उल्लेख छ ।

प्रतिवेदनमा बिरामी आइसोलेसन बेडबाट झरेको भनिएपनि बिरामी बेडबाट झरे उपरान्त कति समय पश्चात स्वास्थ्यकर्मी त्यहाँ पुगेको यथार्थ सिसिटिभी क्यामेरा खराब भएकोले यकिन गर्न नसकिएको जनाइएको छ ।

साथै प्रयोगशालाले बेलैमा पिसिआर रिपार्ट उपलब्ध गराएको भए बिरामीको स्वास्थ्य उपचार थप प्रभावकारी हुनसक्ने ठहर समेत गरिएको छ । झाडापखाला लागेका बिरामीलाई बेलैमा औषधोपचार गराउनुपर्नेमा सो नभएको पाइएको उल्लेख छ ।

कोभिड बिरामी लक्षितका लागि बनाइएको अस्पतालमा रहदा बिरामीका लागि प्रयोगशाला,एक्सरे,सिटि स्क्यान ,भेन्टिलेटरको व्यवस्था नरहेको र अस्पतालका अनुसार समाजिक विकास मन्त्रालयले सो सम्बन्धमा आवश्यक पहल नगरेकोले समग्रमा व्यवस्थापकिय पक्ष कमजोर रहेको देखिएको औंल्याएको छ ।

कोरोना महामारीका कारण मुलुक बाहिरबाट आउने व्यक्तिहरुलाई यथोचित बास स्थानको व्यवस्था हुनुपर्नेमा सो सन्दर्भमा व्यवस्थापकिय पक्ष कमजोर रहेको पाइएको जनाइएको छ ।

प्रदेशसभाको असार १४ गतेको बैठकले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका वडा नम्बर–७ का राजु सदाको मृत्युको घटना अध्ययन गरि प्रतिवेदन पेश गर्नका लागि प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ को उपनियम २ बमोजिम प्रदेशसभा सदस्य रविन्द्र बैठा धोबीको संयोजकत्वमा प्रदेशसभा सदस्यहरु चमेली देवी दास, सुरिता कुमारी साह, नरेश यादव र सावित्री देवी साह सदस्य रहने गरि राजु सदाको मृत्यु सम्बन्धी अध्ययन विशेष समिति २०७७ गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्