मातृभूमि कप क्रिकेटको तयारी पूरा



काठमाडौं : चितवनको भरतपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगका लागि हुन लागेको च्यारीटी क्रिकेट प्रतियोगिता ‘मातृभूमि कप’को तयारी पूरा भएको आयोजकले जनाएको छ।

प्रतियोगितामा कलाकारहरूको दुई टोली र राष्ट्रिय क्रिकेटरको दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। धर्मुस सुन्तली फाउन्डेसनले बनाउने लागेको क्रिकेट मैदानको सहयोगका लागि हुन लागेको प्रतियोगिता शनिबार बिहान १० बजेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

गएको शनिबार नै हुने भनिएको यो खेल वर्षाका कारण यो शनिबार सारिएको हो। धुर्मुस सुन्तलीले पत्रकार सम्मेलन गर्दै भोलि हुने खेलका लागि सबै तयारी पूरा भएको र यो रंगशालाले सबैलाइ जोड्ने प्रयास गरेको र यसको निर्माणमा सबैले साथ दिन पनि आग्रह गरेका छन्। साथै भोलि उठ्ने कुल रकमको १५ प्रतिशत बारामा हावाहुरीबाट ज्यान गुमाएका परिवारलाइ प्रदान गरिने जानकारी दिइएको छ।

क्रिकेटर र कलाकारलाई ‘ए’ र ‘बी’ टोलीमा विभाजन गरेर खेलाइने छ। क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्का र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन्। यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन्।

क्रिकेटरबीचको खेल अघि कलाकारबीचको मनोरञ्जनात्मक खेल हुनेछ।जसका लागि सुनिल थापा, बद्री पंगेनी, सरोज खनाल, सलिनमान बनिया, दयाहाङ राई, निश्चल बस्नेत, सुरजसिंह ठकुरलगायत कलाकारहरू तयार छन्।

टिम ‘ए’ मा मदनकृष्णसहित सन्दीप क्षेत्री, सुनील थापा, कमल मैनाली, बद्री पंगेनी, श्याम पुरी, कुमार कट्टेल, कर्म शाक्य, हेमराज बिसी, घनश्याम गौतम निराजन प्रधान, सन्तोष लामा, अनमोल गुरुङ, राजु ढकाल, दिपक ढकाल र दिलिप ओखेडा रहेका छन्।

यस्तै, समूह ‘बी’ मा हरिवंशसहित सलिनमान बानिया, हेमन्त शर्मा, अनुराग कुँवर, शंकर केसी, कृष्ण काफ्ले, निर शाह, सरोज खनाल, निश्चल बस्नेत, दयाहाङ राई, वीरेन्द्र हमाल, हेमन्त राना, पल शाह, अर्जुन घिमिरे, राजा राजेन्द्र पोखरेल र माओत्से गुरुङ रहेका छन्।

क्रिकेटरमा नेपाल ‘ए’ मा पारससहित शरद भेषावकर, अनिलकुमार शाह, ललितनारायण राजवंशी, सोमपाल कामी, आरिफ शेख, अविनाश बोहरा, सुनील धमला, र भुवन कार्की छन्।

नेपाल ‘बी’ मा कप्तान ज्ञानेन्द्रसहित विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, सुसन भारी, दिलीप नाथ, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, विक्रम सोब र प्रदीप ऐरी छन्।

खेलका लागि टिकटदर १ हजार र तीन सय रुपैयाँ तोकिएको छ। साथै रंगशाला निर्माणको सहयोगार्थ स्वेच्छाले थप रकम दिन पनि सकिनेछ। 

 

प्रतिक्रिया दिनुहोस्