सांसदमात्रै होइन कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा राख्नुपर्छ : बाबुराम भट्टराई



काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा संघीय सांसद बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ताबापतको रकम फिर्ता गर्नुपर्ने आशय व्यक्त गरेका छन् । दसैं भत्ताको विषयमा सांसदहरूको आलोचना भइरहेको बेला भट्टराईको उक्त अभिव्यक्ति आएको हो ।

सोमबार ट्विटरमा भट्टराईले पर्वमुखी भत्ता प्रणालीलाई खारेज गर्नुपर्ने पनि बताएका छन् । भट्टराईले लेखेका छन्, ‘मिडियाले कुरीकुरी गरेपछि लोकरिझ्याँइका लागि एक्लाएक्लै दसैं भत्ता नलिने घोषणा गर्नु सट्टा नेता/सांसदहरूले सरकारलाई धर्मनिरपेक्ष देशमा यस्ता पर्वमुखी भत्ता प्रणालीलाई नै खारेज गर्न दबाब दिनुपर्ने हैन र ?’

कर्मचारीले पनि दसैं भत्ताको नाममा ठूलो रकम लिने भएकाले त्यो पनि फिर्ता गर्नुपर्ने भट्टराईको भनाइ छ । त्यस्तो रकम कोरोना पीडितको उपचारमा लगाउनुपर्ने भन्दै उनले लेखेका छन्, ‘सांसद मात्र हैन कर्मचारीले समेत एकमुष्ट १५ अर्ब रुपैयाँ कोरोना पीडितमा लगाए पो अर्थ होला ।’

सांसदहरूले दसैं भत्ताबापत प्राप्त गरेको करिब २ करोड रुपैयाँ कोरोना कोषमा राख्ने निर्णय गरेका छन् । सार्वजनिक रूपमा आलोचना भएपछि प्रमुख राजनीतिक पार्टीहरूले संसदीय दलमार्फत् निर्णय गरेर सांसदले दसैं भत्ताबापत प्राप्त गरेको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय लिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रीहरूले पनि दसैं भत्ता कोरोना कोषमा राख्ने निर्णय लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्