उच्च अदालतका ८० न्यायाधीश नियुक्ति सदर



काठमाडौं : सर्वोच्च अदालतले उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको ८० न्यायाधीशको नियुक्ति सदर गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले शुक्रबार उच्च

अदालतमा दुई वर्ष अगाडि भएको नियुक्ति कानुनसम्मत भएको उल्लेख गर्दै नियुक्ति सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।    

तत्कालीन प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा २०७३ पुस २८ गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो। 

ती न्यायाधीशले पद तथा गोपनीयताको शपथसमेत लिएर उच्च अदालतको न्यायाधीशका रुपमा काम गरिरहेका छन्। 

अधिवक्ता तोयानाथ ढुंगानाले सरकारी वकिलका तर्फबाट नायव महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेलले २०७३ चैत १५ मा उच्च अदालतका न्यायाधीश नियुक्ति कानुनविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दिएका थिए। 

अदालतको नियुक्ति कानुनसम्मत भएको उल्लेख गर्दै न्यायाधीश नियुक्ति बदर गर्न दायर गरिएको रिट निवेदनसमेत खारेज भएको छ। 

प्रतिक्रिया दिनुहोस्