कर्णाली विवाद : बालुवाटार र खुमलटारको छुट्टाछुट्टै विज्ञप्ति



काठमाडौं : कर्णाली प्रदेश सरकारको विवाद समाधानबारे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नै मत बाझिएको छ ।

विवाद समाधानका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भएको छलफलमा कर्णाली प्रदेश कमिटी विवादको विषयले केन्द्रमा समेत असहमति देखिएको छ।

अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ बीच आज बिहान चार बुँदे सहमति भएको विज्ञप्ति बालुवाटारबाट सार्वजनिक भएपछि खुमलटारबाट अर्को विज्ञप्ति सार्वजनिक भएको छ।

बालुवाटारको विज्ञप्ति

प्रेस नाेट

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” बीच आज बिहानको भेटघाटमा भएकाे सहमति निम्नानुसार रहेकाे जानकारी गराउन चाहन्छु :

१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।

२) प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीकाे निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।

३) मुख्यमन्त्रीविरूद्द दर्ता भएकाे अविश्वास प्रस्ताव फिर्ता लिने र

४) अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

यस बारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकाेजस्ताे गरी छलफल र सहमति नभएकाे सबैकाे जानकारीका लागि अनुराेध गर्दछु ।

सूर्य थापा

प्रेस सल्लाहकार

४ कात्तिक २०७७

खुमलटारको विज्ञप्ति 

प्रेस नोट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।

उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।

बिष्णुप्रसाद सापकोटा ‘जुगल’

प्रेस संयोजक

अध्यक्ष प्रचण्डका निजी सचिवालय

प्रतिक्रिया दिनुहोस्