सीमा क्षेत्रमा ओहोरदोहोर बढ्दै



नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) को सीमासँग जोडिएका भारतीय बजारमा नेपालीको आवातजावत बाक्लिएको छ । कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले मूख्य नाका बन्द गरेको भए पनि सहायक बाटो र खेतको बाटो भएर किनमेलका लागि भारतीय बजार ओहोरदोहोर भइरहेको छ ।

दैनिक उपभोग्यलगायत चाडपर्वका लागि आवश्यक सामान किनमेल गर्न नेपालीहरु कोरोना भाइरसको जोखिमलाई बेवास्ता गर्दै सस्तो पाइने लोभमा भारतीय बजार पुग्ने गरेका छन् । सीमासँग जोडिएका नजिकका भारतीय बजारमा अहिले किनमेल गर्ने नेपालीको घुइचो लाग्ने गरेको छ ।

सामान किनमेल गर्ने तथा नाता सम्बन्धका कारण पनि सीमा क्षेत्रका बासिन्दा दैनिक जसो नै ओहोरदोहोर गर्ने गरेका छन् । औषधी उपचार गर्नसमेत नेपाली नजिकका भारतीय बजारमै जाने गर्छन् ।

चाडपर्वमा लत्ताकपडा तथा दैनिक उपभोग्य सामान किन्न, जिल्लाको सुनवल, बर्दघाट, भूमही, परासीसहित नवलपुर र नारायणगढबाट समेत गाडी नै रिर्जभ गरी मानिसहरु किनमेलका लागि भारतीय बजार ठूटीबारी आउने गरेका सीमा क्षेत्र महेशपुरका स्थानीय धु्रवनारायण बानियाँले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्