चन्द्रागिरिमा ओली र प्रचण्डकाे २४ घन्टा : एकता कार्यविभाजनबारे यस्ताे निष्कर्ष



काठमाडाैं : सचिवालयका शीर्षस्थ नेताहरूसँग वेग्लावेग्लै परामर्शपछि बिहीबार अपराह्न ५ बजे चन्द्रागिरि हिल्स पुगेका ओली र प्रचण्ड २३ घन्टा छलफल गरेर शुक्रबार अपराह्न ४ बजे काठमाडौं फर्किए।

करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल  गरेका छन् । चन्द्रागिरि हिल्स रिसोर्टमा भएको २३ घन्टा लामो आवासीय बैठकमा दुई अध्यक्षले यसअघि नै समझदारी भएको मोडलभित्रै रहेर जिल्लाहरूको भागबन्डासहित कार्यविभाजन प्याकेजमै टुंग्याउने गरी छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ।

पूर्वएमाले र पूर्वमाओवादी समूहमध्ये जिल्लाहरूको भागबन्डा गर्दा एउटा पक्षले इन्चार्ज लिए सचिव र अर्को पक्षले अध्यक्ष लिए सहइन्चार्ज पाउने मोडलमा यसअघि नै समझदारी भइसकेको छ । 

प्रधानमन्त्रीनिकट एक स्थायी समिति सदस्यका अनुसार दुई अध्यक्षबीच जिल्ला अध्यक्ष र सचिवको सूची, जनसंगठनको नेतृत्व भागबन्डा, केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत समग्र विषयमा ‘प्याकेज’मा छलफल भएको छ । ‘उहाँहरूले प्याकेजमै टुंगो लगाउने गरी फेददेखि टुप्पोसम्म सबै विषयमा छलफल गर्नुभएको छ,’ ती नेताले नयाँ पत्रिकासँग भने, ‘सचिवालयका अरू नेताहरूलाई पालैपालो वेग्लावेग्लै परामर्श गरिसक्नुभएकाले उहाँहरूले प्याकेजमै सबै टुंगो लगाउने गरी लामो गृहकार्य गर्नुभएको हो ।’ 

केन्द्रीय सचिवालयका शीर्षस्थ नेताहरूसँग वेग्लावेग्लै परामर्शपछि बिहीबार अपराह्न ५ बजे चन्द्रागिरि हिल्स पुगेका ओली–प्रचण्ड २३ घन्टा बिताएर शुक्रबार ४ बजे फर्किएका थिए ।

छलफलको सहयोगी भूमिकामा सचिवालय सदस्य रामबहादुर थापा‘बादल’ र महासचिव विष्णु पौडेल पनि गृहकार्यमा सहभागी थिए । बादल एकता प्रक्रियाको बाँकी कामको गृहकार्यका लागि गठित ९ सदस्यीय कार्यदलका संयोजक थिए ।

बादलले पूर्वमाओवादी तथा महासचिव पौडेलले पूर्वएमाले समूहको तर्फबाट प्रस्ताव तयारीमा सहयोगी भूमिका खेल्दै आएका छन् । यी दुई नेता रहेको दुई सदस्यीय कार्यदलले प्रदेश कमिटी सदस्यहरूको नामावली तयार पारेपछि सचिवालय बैठकबाट पारित भएको थियो । 

याे समाचार नयाँपत्रिका दैनिकले छापेकाे छ। 

प्रतिक्रिया दिनुहोस्