सत्ताबाहिरका नेताहरू भन्छन्- सरकारविरुद्ध अब संयुक्त आन्दोलन



काठमाडौ‌ंं : सत्ताबाहिरका दलका नेताहरूले सरकारका विरुद्ध संयुक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संसदमा प्रतिनिधित्व नगर्ने दलका नेताहरूले एकै स्वरमा सरकारका विरुद्धमा आन्दोलनको विकल्प नरहेको बताएका हुन्।

प्रतिपक्ष दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवादेखि राष्ट्रवादी एकता केन्द्रका चन्द्र बहादुर थापासम्मले ‘नाम मात्रको कम्युनिस्ट सरकार' विरुद्धको आन्दोलन सशक्त बनाउने चेतावनी दिएका हुन्।

सत्ता बाहिरका ११ विद्यार्थी संगठनले दलका नेताहरूलाई एकै स्थानमा उभ्याइ सरकारविरुद्ध आवाज बढाउने अवस्था जुराइदिएको थियो। नेपाली कांग्रेसका सभापति देउवाले आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई अनुरोध गरे। सरकारप्रति तीव्र असन्तुष्टि जनाएका देउवाले भने, ‘देखाउन लायक ओली सरकारले एउटै काम गरेको छैन।’

निर्मला पन्तको बलात्कारीलाई वर्तमान सरकारले बचाएको आरोप लगाए। प्रधानमन्त्रीलाई करप्रसादको संज्ञा दिदै भने, ‘केपी ओली होइन,कर प्रसाद ओली नाम राख्नपर्छ।’

नेकपा विप्लव समूहलाई हत्या हिंसा छोड्न आग्रह गर्न सरकारलाई सुझाव दिए।

उनले विप्लवको पार्टीलाई भने, ‘बम पड्काएर केही हुने वाला छैन।’ राष्ट्रवाद र देश भक्ति ओलीमा कहाँ छ? भन्दै प्रश्न गरे। संवैधानिक परिषद्को बैठकमा आउन नसक्ने जानकारी दिँदा दिँदै पनि बैठक डाकिएको भन्दै सरकारको आलोचना गरे।

उनले सरकार असहिष्णु देखिएको बताए। प्रहरी शान्ति सुरक्षा कायम गर्न नसके मात्रै सेना परिचालन हुने बताउँदै देउवाले भने, ‘सुरक्षा परिषदको बैठक बिना सेना परिचालन गरी ओलीले के गर्न खोजेका?’

क्रान्तीकारी माओवादीका महासचिव मोहन वैद्यले कांग्रेस, मधेसवादी र सत्ता बाहिर रहेका कम्युनिस्ट एक स्थानमा आउने परिस्थिति बनेको प्रति खुसी व्यक्त गर्दे भने, ‘कम्युनिस्ट नामधारी सरकारसँग सडकमा ओर्लनपर्छ।’

वर्तमान सरकार कम्युनिस्टको सरकार हुनै नसक्ने दाबी गरे। नाम कम्युनिस्ट भएको वर्तमान सरकारको आचरण गैर कम्युनिस्टको रहेको जिकिर गरे। सत्ता भन्दा बाहिर रहेका वास्तविक कम्युनिस्ट भएको उनले दाबी गरे। उनले भने, ‘सरकारमा रहेको डबल नेकपा हो।’

कांग्रेस सह-महामन्त्री डा प्रकाश शरण महतले ओलिको राष्ट्रियताको मुद्धा सत्तामा जाने भर्‍याङ भएको आरोप लगाए। उनले भने, ‘यो सरकार न कम्युनिस्ट सरकार हो, न उदार लोकतान्त्रिक सरकार हो।’

संस्थागत भ्रष्टाचार लाख र करोडमा हुन छोडेको भन्दै सरकार भ्रष्टाचारी भएको आरोप लगाए। उनले सत्तामा रहेको संघीय समाजवादी फोरमलाई सरकार छोडी आन्दोलनमा आउन आग्रह गरे। राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले महंगी, हत्या,हिंसा बढिरहेको छ,कसरी ठीक ठाक छ? भन्दै प्रश्न उठाए।

सरकारका विरुद्ध आन्दोलनमा उत्रन विद्याथी संगठनलाई आह्वान गरे। झापा काण्डमा र सशस्त्र युद्धमा व्यक्ति हत्या गरेका सरकारमा हुन मिल्ने तर पहिचानको आन्दोलनमा लागेका रेशम चौधरीलाई आजीवन काराबास तोकेको भन्दै असन्तुष्टि जनाए।

नेकपाले सिके राउतलाई मधेसको दूत बनाएको आरोप लगाए। माओवादी केन्द्र नेता गोपाल किराँती नेपाललाई अफगनिस्तान बनाउने वर्तमान सरकारले प्रयत्न गरिरहेको जिकिर गरे।‘सिके राउतसँग गरेको सम्झौताकै भाषामा कांग्रेसले त्यस्तै सम्झौता गरेको भए के हुन्थ्यो?’ उनले प्रश्न गरे, 'नेकपाले कांग्रेसको सरकारलाई उखेलेर फाली दिने थियो।’

अबको आन्दोलनका लागि वैद्य र देउवाले नेतृत्व लिन आग्रह गरे। राष्ट्रवादी केन्द्रका नेता चन्द्र बहादुर थापाले विदेशीले उत्पादन गरेको वस्तु खरिद गरी युवा बेच्ने काममा सरकार लागेको बताए।

जनताले प्रतिपक्ष नदेखेको औंल्याउँदै देउवालाई आग्रह गरे, ‘तपाईं प्रतिपक्ष दलको भूमिका देखाउनुस्। हामी साथ दिन तयार छौं।’ मालेका महासचिव सिके मैनालीले सरकार सीपी मैनाली छिर्के विर्के राष्ट्रवादी भएको बताए। सत्ता बाहिरका दलले कम्युनिस्ट नामधारी सरकारसँग लडन साझा एजेण्डा तय गर्न नेताहरूलाई आग्रह गरे।

नेपाल कम्युनिस्ट पार्टीका नेता ऋषि कट्टेलले लुटतन्त्रका अनेक श्रृङ्खला वर्तमान सरकारले देखाएको आरोप लगाए। नेताहरूले विद्यार्थी आन्दोलन बाटोबिहीन भएको प्रति चिन्ता व्यक्त गरे। साथै, वर्तमान सरकारलाई गैडालाई सिस्नु लगाए सरह भएको बताउँदै सरकारका बारेमा बोल्नु अर्थहीन भएको बताए।

प्रतिक्रिया दिनुहोस्