समग्रमा यस्ताे रह्याे नेपाली सिनेक्षेत्र



काठमाडौं :  वर्ष ०७५ नेपाली चलचित्रका लागि लाभदायक सिद्ध हुन सकेन । व्यवसायका हिसाबले शून्य बराबर रहेको यो वर्ष फिल्म निर्माणका रूपमा भने क्रमिक बढ्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनामा ०७५ मा डेब्यु गर्ने हिरोइनको सङ्ख्या धेरै देखियो ।

उलेख्य रुपमा नवअभिनेत्रीको डेब्यु

यो वर्ष दुई दर्जनभन्दा बढी युवती हिरोइनका रूपमा फिल्म क्षेत्रमा देखापरे । केही भविष्य खोज्दै फिल्म अभिनयमा भित्रिएका पाइन्छ भने केही रहर पूरा गर्न यो रोजेको बताउन हिचकिचाएनन् । ०७५ को सुरुवात अर्थात वैशाख ७ मा रिलिज भएको पहिलो फिल्म ‘स्वर्ग मेरो गाउँमा’देखि वर्षको अन्तिम अर्थात गत शुक्रबारबाट रिलिज हुने फिल्म ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ सम्मका करिब आधा फिल्ममा नवअभिनेत्रीको डेब्यु देख्न सकिन्छ । 

साक्षी लम्साल, सुजाता थापा र भावना गुरुङ, आरोही शर्मा, सृष्टि कार्की,  पूजा तिवारी, गङ्गा रानामगर, कविता गुरुङ, अलिसा शर्मा, शिवानी गिरी, एन्जिला खड्गी, सनम मल्ल, इलिजा गौतम, कामना भुजेल, कमला वली, आश्मा गिरी, करुण श्रेष्ठ, सुपुष्पा भट्ट, शुभेच्छा खड्का, रेवती क्षेत्री, प्रियङ्का सिंह ठकुरी,  प्रियङ्का एमजी, उपासान सिंह ठकुरी, शिल्पा मास्के, निरिषा बस्नेत, क्रिस्टिन पौडेल, सुहाना थापा, मालिका महत यो वर्ष अभिनयमा भित्रिएका अभिनेत्री हुन् । यीमध्ये अभिनय, प्रस्तुति, चर्चा र निरन्तरताका आधारमा यो वर्ष डेब्यु गरेका आसलाग्दा अनुहार यी हुन् ।

नयाँ अभिनेताहरु डेब्यु

नेपाली फिल्म क्षेत्रलाई फर्केर हेर्दा कविर खड्का, धीरज मगर, हरिहर अधिकारी, मुकुन भुषाल लगायत दर्जन नयाँ युवाहरु अभिनयमा भित्रिए । यसरी भित्रिएका मध्य केही फिल्म क्षेत्रले आस गरेका अनुहार समेत गरेका छन् । यो वर्ष डेब्यू गरेका र फिल्म क्षेत्रमा आस गरिएको  ५ अभिनेता जसको चर्चा अहिले गर्न खोजिएको छ । 

यी कलाकारलाई गुमाइयो

बिट मार्नै लागेको २०७५ वर्षले चर्चित केही कलाकारलाई गुमायो । जसमा भीमबहादुर थापा,हरिप्रसाद रिमाल,रामकेशर बोगटीगणेश न्यौपाने ‘मुनाल’ र बीएस राणा रहेका छन् ।

वरिष्ठ कलाकार भीमबहादुर थापाको जेठ २९ गते ९३ वर्षको उमेरमा काठमाडौं मैतीदेवीस्थित आफ्नै निवासमा निधन भयो ।  काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको भदौं १५ गते ९३ वर्षको उमेरमा आफ्नै निवास काठमाडौं वानेश्वर हाइटमा निधन भयो । 

यस्तै रामकेशर बोगटीको असोज २३ गते ५८ वर्षको उमेरमा ललितपुरको टिकाथलीमा निधन भएको हो । आफ्नै घर नजिकै रुख काटेको हेर्ने क्रममा बिजुलीको पोलले लागेर उपचारको क्रममा बोगटीको निधन भएको थियो ।

साथै कलाकार गणेश न्यौपाने ‘मुनाल’को ६८ वर्षको उमेरमा माघ ७ गते निधन भएको भने चलचित्र क्षेत्रका अग्रज कलाकार बीएस राणाको पनि माघ १८ गते ७६ वर्षको उमेरमा निधन भयो । श्वासप्रश्वासमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका बीएसको उपचारका क्रममा निधन भएको थियाे

यस्ताे रह्याे सिनेमा नाफा घाटा

गत शुक्रवार अर्थात् चैत २९ गतेबाट प्रदर्शनमा आएकाे चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’सहित याे यस वर्ष ९६ वटा चलचित्र प्रदर्शनमा आए। तर नाफामा जाने चलचित्रको संख्या हेर्ने हो भने निकै कम देखियाे । वर्षको शुरूवाती ४ महिना त हलमा दर्शकको खडेरी नै लाग्यो । 

त्यो खडेरी पाचौं महिना भदौंमा प्रदर्शनमा आएको चलचित्र ‘नाइँ नभन्नू ल ५’ले केही उकास्ने काम गर्‍यो । हल सञ्चालक, चलचित्रकर्मी, दर्शकमा यो चलचित्रले एकखालको उत्साह थप्ने काम गर्‍यो । अन्नतः चलचित्रले लगानी सुरक्षित गर्दै निर्मातालाई केही नाफा दिलायो । असोजमा प्रदर्शनमा आएको ‘छक्का पञ्जा ३’ त १६ करोड रुपैयाँ बढीको व्यापार (निर्माताको जानकारी अनुसार) गर्दै सफल सावित भयो ।

शुरूवाती महिनामा निराशा रहेको चलचित्रको व्यापारलाई मध्यतिर प्रदर्शनमा आएका चलचित्रले आशा जगाउने काम गरे । तर त्यसपछिका महिना फेरि उही – हलमा दर्शकको खडेरी । त्यसपछिको बाँकी महिना कुनै पनि चलचित्र नाफामा जान सकेनन् ।

केही चलचित्रले डिजिटल प्लेटफर्म र विदेशबाट जेनतेन लगानी उठाएपनि हलमा दर्शक गएरै लगानी नउठाएसम्म चलचित्रलाई सफल मानिँदैन । यसरी हेर्दा ८५ बढी नेपाली चलचित्रले निर्मातालाई घाटा दिलाए । 

२०७५ सालको मध्यतिर हलमा चहलपहल देखिएपनि अधिकांश महिना हलमा दर्शकको खडेरी देखियो । यत्तिसम्म कि दर्शक हराएको भन्ने चर्चा नै चल्यो । यसरी हेर्दा नेपाली चलचित्रका लागि २०७५ साल दुःखद मात्र होइन, अति दुःखद रह्यो ।

प्रतिक्रिया दिनुहोस्