आज फुलपाती, कालरात्री देवीको पूजा गरिँदै



आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ ।

कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ । दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ । काठमाडौको वसन्तपुरमा भने गोरखा दरबारको दसैंघरबाट ल्याइएको फुलपाती परम्परा अनुसार नै भित्र्याईंदै आएको छ ।

फूलपातीसंगै दसैं पूर्णरुपमा सुरु हुन्छ । फुलपातीका दिनदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शिक्षण संस्था, गैरसरकारी संघसंस्थाहरु विदा हुने गर्दछन् । यसो हुँदा मानिसहरु फुर्सदिला भई टाढाटाढा रहेका आफ्ना घर जाने मौका पाउँछन् ।

दशैं मान्न घर फर्किनेहरूको भिडले यातायात साधन भरिभराउ हुन जान्छन् । बजारहरुमा विशेष चहलपहल सुरु हुने र नयाँनयाँ अनुहारका मानिसको आवतजावतले रमाईलो अनुभूति गराउँदछ । फूलपातीकै दिनदेखि गाउँघर शहरबजारमा रोटे र लिङ्गे पिङ हाल्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्