दशैंमा पटक-पटक गुञ्जिन्छन्-गुञ्जिन्छन् यी गीत



‘वर्षमा दिनैमा लै लै, हर्षका दिन यी लै लै…’ दशैं शुरु भएसँगै हरेक व्यक्तिले गाउँने, गुनगुनाउने, सुन्ने अनि सुनाउने गीत हो यो । यो गीत नसुनि दशैं आएको जस्तो पनि लाग्दैन भन्ने पनि गरिन्छ । दशैं र तिहारमा परदेशीले घरपरिवारलाई सम्झेर पोखेको बेदना गीतले प्रस्तुत गर्छ । नेपाली परिवेशसँग मिल्ने भएकाले पनि यो गीत आज पनि त्यक्तिकै लोकप्रिय अनि चर्चित छ ।

रवी श्रेष्ठको शब्द रहेको गीतमा सुगम पोखरेलको संगीत तथा स्वर रहेको छ । वर्षमा एक पटक आउने दशैंमा छोराको बाटो कुरेर बस्ने बुवाआमा र तिहारमा दाइको पर्खाइमा बस्ने बहिनीको कथा गीतमा छ ।

दशैं नै हो कि यो मेरो दशा फर्की आएको, वचनैपिच्छे किन यो मेरो टाउको खाएको…’
योगेस्वर अमात्यको स्वरमा रहेको यो गीत उत्तिकै मर्मस्पर्शी छ । प्रेम बस्नेतको शब्द, न्ह्यू बज्राचार्यको संगीतमा बजारमा आएको यो गीत करीब २ दशक अगाडि रेकर्ड भएको गीत हो । निम्न आयस्रोत भएका परिवारलाई दशैं उत्सवभन्दा पनि दशा बनेर आउने गरेको तीतो यथार्थ गीतले बोलेको छ ।


‘दशैं आयो..’
चलचित्र ‘मुग्लान’मा समावेश ‘दशैं आयो’ बोलको गीतले दशैंको मर्म बोकेको छ । परदेश गएको छोरा घर आउने दिन कुर्दै औंला भाँचेर पर्खिरहेको, घर छाडेका परदेशी फर्केपछि परिवार र आफन्तमा छाएको खुशी, आमाले छोरो आउने बाटो कुर्ने वर्णन, जमरा, रातो टीकादेखि गाउँघरमा पिङ खेलेका कुरा गीतमा समावेश गरिएको छ । लोकनाथ सापकोटाको शब्द रहेको यस गीतमा उदित नारायण झा र दीपा झाले स्वर भरेका छन् ।

‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा…’
नारायणगोपालको यो सदाबहार दशैं गीतमा एउटा परदेशी घर फर्किने बाचा गर्छ। दशैंको बेलामा परदेशमा रहँदाको पीडा र घर फर्किने उसको चाहना गीतमा पोखिएको छ।

‘फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार
किन आउँछ दशैं तिहार किन बिदा बार
फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार
कर्तव्य नै हाम्रो दशैं कर्तव्य तिहार’

यो गीत दशैंतिहारमा निकै बज्ने गर्दछ । दीपक कोइरालाले शब्दमा जगदीश समालले स्वर भरेका छन् । गीतमा गैरे सुरेशको संगीत रहेको छ । गीतले दशैं र तिहारमा पनि घर जान नपाउने फौजीको पीडा बोल्छ ।

‘दशैं आयो, खाउँला पिउँला‘
दशैंका गीतमध्ये यो बालगीत निकै चर्चित छ। बच्चाले गाउने यो गीतमा चोरेर भएपनि दशैं मनाउँछु भन्नेलाई चोर्नु हुँदैन भन्ने सन्देश दिन खोजिएको छ । यो बालगीतबाट प्रभावित भएर अन्य गीत पनि बनेका छन्। शिव थापाको यो गीत तिनै मध्ये एक हो।


‘यसपालि त यस्तै भो आमा…
जनगायक जीवन शर्माले स्वर भरेको ‘यसपालि त यस्तै भो आमा, अर्को साल आउने छु दशैंमा’ बोलको गीत दशैंको कालजयी गीत होे । यस गीतमा दशैंमा घर फर्किन नपाएको छोराले आमालाई सम्झेर पोखेको विरह समाविष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्