रानीपोखरीको बाँकी निर्माण चरणवद्ध रुपमा गरिने



काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी बढाउने भएको छ ।

महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले रानी पोखरी गुरुयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणवद्ध रुपमा निर्माण गरिने बताए ।

रानीपोखरीको मुख्य प्रवेशद्धार र ऐतिहासिक पार्टी लगायतका संरचनाको निर्माण गर्न बाँकी रहेको छ । त्यस्तै गुरुयोजना अन्तर्गत त्रिचन्द्र कलेज, प्रहरी आयुक्तको कार्यालय, शान्तिबाटिका, रत्नपार्क लगायतलाई समावेश गरी बृहत रानीपोखरीको रुपमा विकास गरिने मेयर शाक्यले बताए । यी कामहरु एकैसाथ गर्ने भन्दापनि चरणवद्ध रुपमा अगाडी बढाउने रणनीति अनुसार काम भइराखेको पनि बताए ।

२०७२ शालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुननिर्माणको क्रममा आधुनिक शैलिमा बनाउन लागिएको भन्दै विवाद भएको थियो । तर पछि विज्ञहरुको सुझाव अनुसार भूकम्प अघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पूननिर्माण गरिएको छ ।

रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको काम बाहेक महानगरपालिकाले बनाएको गुरुयोजना अनुसार बृहत रानीपोखरीको विकास गर्न भने बाँकी छ । मेयर शाक्यका अनुसार रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकको लागि खुल्ला हुनेछ । तर पोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटिकाको दिन मात्रै खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्