लोक सेवा आयोगद्वारा पदपूर्तिसम्बन्धी कार्यतालिका परिमार्जन



काठमाडाैं : लोक सेवा आयोगले पदपूर्तिसम्बन्धी कार्यतालिका परिमार्जन गरेको छ । सरकारले लोक सेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न गरेको आग्रहसँगै प्रभावित हुन पुगेको आयोगको नियमित कार्यतालिका पुनर्तालिकीकरण गरेसँगै रोकिएका पदहरूको मंसिर अन्तिम साताबाट विज्ञापन हुने भएको छ ।

 

विज्ञापन गर्न लोक सेवा आयोग स्वतन्त्र छ तर सरकारबाट माग प्राप्त भएपछि मात्रै आयोगले विज्ञापन खोल्ने भएकोले दुई महिनाभित्र सरकारले माग पठाएमा मंसिर अन्तिम साता विज्ञापन खुल्ने बताइएकाे छ ।

 

आयोगको निर्णय शुक्रबार सार्वजनिक हुने स्रोतले बतायो । सहसचिव, उपसचिव वा सोसरह तथा एघारौँ र नवौँ तहमा पदपूर्तिको विज्ञापन असोज महिनाको अन्तिम बुधबार गर्ने आयोगको कार्यतालिका थियो ।

 

‘संवैधानिक निकायलाई सरकारले योभन्दा बढी कार्यतालिका नै परिवर्तन गर्न नभन्ला भन्ने अपेक्षासहित दुई महिनाका लागि गरेको सरकारको आग्रहलाई स्विकारेका हौँ’ आयोगको अध्यक्ष उमेशप्रसाद मैनालीले भने, ‘रि–सेड्यूलअनुसार मंसिरको अन्तिम साता विज्ञापन गर्नुपर्ने हुन्छ, त्यो बेलाचाहिँ फेरी रिसेड्यूल गर्नुपर्ने अवस्था नआओस् ।’

आयोगले अहिलेसम्मकै नगरेको निर्णय गर्नुपरेको बताउँदै अध्यक्ष मैनालीले भने -‘एक पटकका लागि मात्रै सार्नु परेको र पुनः सार्न परेमा त्यो अवस्थामा आयोग असमर्थ जस्तै हुनेछ ।’ संघीय मामिला तथा सामान्य प्रशासनको दुई महिनापछि मात्रै विज्ञापन गर्नका लागि भएको अनुरोधलाई हृदयंगम गर्दै आयोगले सहसचिव, उपसचिव वा सोसरह तथा एघारौँ र नवौँ तहका लागि लिखित परीक्षाहरूको विज्ञापन मंसिरमा सञ्चालन गर्ने र पुस १ गतेदेखि पुरानै कार्यतालिकालाई असर नपर्ने गरी आयोगले पारित गरेको आयोगका सहसचिव तथा प्रवक्त्ता किरण राज शर्माले जानकारी दिए ।

 

प्रवक्त्ता शर्माले भने समग्र निजामती सेवाको वृत्ति विकासमा असर नपरोस् भनेर आयोगले यो किसिमको व्यवस्था गरेको छ । यसैबीच आयोगले आज सूचना प्रकाशन गर्दै सरकारले अनुरोध गरेको पत्र प्राप्त गरेको जनाएको छ ।

 

सूचनामा भनिएको छ- सहसचिव, उपसचिव वा सोसरह तथा एघारौँ र नवौँ तहमा पदपूर्तिको विज्ञापन असोज महिनाको अन्तिम बुधवार गर्ने आयोगको कार्यतालिका रहेकोमा मन्त्रिपरिषद्बाट मिति २०७५/०६/२८ मा निर्णय गरी उक्त विज्ञापन एक पटकलाई दुई महिनापछि हुने गरी पुनर्तालिकीकरण गरिदिन अनुरोध गरिएको पत्र मिति २०७५/०६/२९ गते प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्