यसकारण मैदानमै रिसाए ‘क्याप्टेन कुल’ ?



एजेन्सी: मैदानमा रिसाएपछि चेन्नाइ सुपर किंग्सका कप्तान तथा भारतको राष्ट्रिय क्रिकेट टोलिका कप्तान महेन्द्रसिंह धोनीले जरिवाना तिर्नुपर्ने भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) आयोजकले उनलाई एक खेलको पारिश्रमिकको पचास प्रतिशत जरिवाना गर्ने भएको छ । 

आइपिएलमा बिहीबार राजस्थान रोयल्सविरुद्धको खेलमा धोनीको टिम चेन्नाई दबावमा थियो । १५१ रनको लक्ष्य पछ्याएको चेन्नाइलाई जितका लागि अन्तिम ओभरमा १८ रन आवश्यक थियो । धोनी र रविन्द्र जडेजाको जोडी ब्याटिङमा थियो । अघिल्ला केही ओभरदेखि नै धोनी निकै दवावमा देखिएका थिए । 

राजस्थानका लागि अन्तिम ओभर बलिङ गर्ने जिम्मेवारी बेन स्टोक्सले पाए । उनको पहिलो बलमा धोनीले छक्का प्रहार गरे । स्टोक्सको दोस्रो बल नो बल भयो, यसमा पनि धोनीले एक रन लिए । तर, तेस्रो बलमा धोनीलाई स्टोक्सले आउट गरे । आफू आउट भएपछि धोनीको हैरानी अझै बढ्यो । 

स्टोक्सको चौथो बलमा विवाद भयो । चेन्नाइका खेलाडीले यो नो बल भएको दाबी गरे तर अम्पायरले नो बलको मान्यता दिएनन् । यही विषयमा अम्पायरसँग विवाद गर्न धोनी मैदान छिरेका थिए । ‘क्याप्टेन कुल’ भनेर चिनिएका धोनी मैदानमा सधैं संयमित रुपमा प्रस्तुत हुने गर्छन् । मैदानमा उनी रिसाएको देखिएको यो दुर्लभ घटना थियो । 

धानी आउट भएपछि मैदान छिरेका स्ट्यानरले विवादित बलमा २ रन लिए र पाँचौ बलमा पनि २ रन लिए । अब चेन्नाईलाई जितका लागि अन्तिम बलमा ६ रन आवश्यक थियो, स्टोकसले वाइड बल फालेपछि जितका लागि ५ रन आवश्यक भयो । यो बलमा छक्का प्रहार गर्दै रविन्द्र जडेजाले चेन्नाईलाई जित दिलाए ।  

प्रतिक्रिया दिनुहोस्