कांग्रेसको अवरोधका कारण बन्द बीपी राजमार्ग प्रहरीले खुलायो



सिन्धु्लीः गाउँपालिका अध्यक्ष कुटपिट गर्नेलाई कारबाही माग गर्दै सिन्धुलीमा शनिबार बिहान नेपाली कांग्रेसले गरेको बीपी राजमार्ग बन्द प्रहरीको प्रयासमा खुलाइएको छ। तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरलाई हातपात गर्नेलाई कारबाही माग गर्दै सिन्धुलीका कांग्रेस नेता-कार्यकर्ता बिहानै बीपी राजमार्गमा चक्का जाम गर्दै विरोध प्रदर्शन गरेका थिए।

प्रहरीको प्रयासमा सडक खुलाइएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डीएसपी लोकदर्शन थापाले नेपालखबरलाई जानकारी दिए। उनले भने, ‘कसैले भने पनि नभने पनि दोषीलाई त कानुनबमोजिम कारबाही भइहाल्छ नि!

प्रहरीका अनुसार बिहान सवा ८ बजेदेखि अवरुद्ध सडक सवा ९ बजेबाट खुलाइएको हो। काठमाडौंबाट सिन्धुली हुँदै तराई जाँदै तथा तराईबाट काठमाडौं आउँदै गरेका सवारीसाधन केही समय रोकिए पनि अहिले सञ्चालन भएको प्रहरीले जानकारी दिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवालले सिन्धुलीको तीनपाट गाउँपालिकाका अध्यक्षलाई यही चैत २८ गते दिउँसो कार्यकक्षमै गएर हातपात गरेको आरोप छ।

सडक निर्माण समिति तीनपाटन-१ बेलघारीमा अनियमतिता भएको गुनासो आएको र अनुगमनपश्चात समितिको पैसा निकासी हुने प्रक्रिया चलिरहँदा कटुवालले हातपात गरेको गाउँपालिका अध्यक्ष मगरको आरोप छ।

प्रतिक्रिया दिनुहोस्