कोहलपुर क्रिकेट मैदानमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता



बाँके : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रिकेट खेल बाँकेमा आयोजना हुने भएपछि कोहलपुर क्रिकेट मैदानको स्वरुप फेरिएको छ । निर्माण घोषणा भएको डेढ दशकपछि प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानले काँचुली फेरेको हो ।

रु १५ लाख लागतमा चार पिच निर्माण गरिएको छ भने कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा खेलमैदान क्षेत्रमा तारजाली गरिनुका साथै शौचालय र ड्रेसिङरुम निर्माण गरिएको मैदान निर्माण तथा खेल सञ्चालन समितिका सदस्य दीपेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार नगर विकास समिति कोहलपुर र उद्योग वाणिज्य सङ्घ कोहलपुरको संयुक्त लगानीमा मैदान क्षेत्रभित्र खेलाडीको अभ्यासका लागि प्राक्टिस पिचसमेत निर्माण गरिएको छ । घोषणा भएको लामो समयसम्म कुनै संरचना नबनेपछि अतिक्रमणको मार खेप्दै आएको मैदानमा आठौँ राष्ट्रिय खेलकूद आयोजना हुने भएपछि निर्माणमा गति लिएको हो ।

आगामी वैशाख ४ गतेबाट कोहलपुर मैदानमा क्रिकेट खेल सञ्चालन हुने भएकाले मैदान मर्मतसँगै अन्य तयारी अन्तिम चरणमा पुगेको क्रिकेटर तथा अन्तर्राष्ट्रिय क्रिकेट स्कोरर होमेन्द्र क्षेत्रीले जानकारी दिए । उनका अनुसार मैदानमा घाँस काट्ने, रोलिङ गर्ने, पानी हाल्नेलगायतका काम भइरहेका छन् ।

विसं २०६० मा कोहलपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा निर्माण गर्न प्रस्ताव गरिएको थियो । सोहीबमोजिम तत्कालीन नगर विकास समितिले मैदान निर्माणका लागि चार बिघा १८ कठ्ठा १८ धुर जमीन उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्