कांग्रेस नेतालाई झलनाथको झटारो : आफ्नो अनुहार ऐनामा हेर्नुस्



काठमाडौं : नेकपाका नेता झलनाथ खनालले आफूले अवसर पाउँदा केही गर्न नसकेको कांग्रेसले वर्तमान सरकारको आलोचना गर्नुको कुनै औचित्य नभएको बताएका छन्। कांग्रेसले केही गर्न नसकेकै कारण युवा जनशक्ति विदेसिन बाध्य भएको उनले बताए।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा खनालले भने, ‘कम्युनिस्ट पार्टीले विकास निर्माणमा केही गर्न सक्दैन भनेर विरोधको गर्नुको कुनै अर्थ म देख्दिनँ।’ नेता खनालले कांग्रेसले २०४६ साल यता पटकपटक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा समेत देशका लागि केही गर्न नसकेको आरोप लगाए।

‘अहिले कांग्रेसका साथीहरूले हामी गर्छौ भनेर अहिले गफ लगाउनुभएको छ। तर, ४६ साल पछि अवसर प्राप्त भएको हैन तर, के गर्नुभो ? सारा देशलाई गरिबीमा डुबाउनुभयो। सारा देशमा वेरोजगारीमा डुबाउनुभयो’, उनले भने, ‘झण्डै ५० लाख भन्दा बढी युवाहरू विदेशमा जान बाध्य छन्। यो बाध्यता खडा गर्यो कसले ? कांग्रेसका साथीहरूलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्न आग्रह गर्छु।’ 

देश विकास गर्ने कम्युनिस्ट पार्टी मात्र भएको भन्दै खनालले विरोधको कुनै अर्थ नरहेको बताए। पछिल्लो समय लोडसेडिङ गराउने तत्व सक्रिय भएको भन्ने खबर आएको भन्दै उनले त्यसविरुद्ध सरकार दृढताका साथ उभिन पर्ने बताए।

कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले शान्ति सुरक्षा कायम गर्दै सभा स्वच्छ, हराभरा बनाउन महानगरले विशेष अभियान सुरु गरेको बताए।

प्रतिक्रिया दिनुहोस्