मुकेश चौरसिया मृत्यु प्रकरणः जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना



पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै आज पाँचौ दिन पनि जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना प्रर्दशन गरिएको छ ।

नेकपा विन्दवासिनी गाउँपालिका सचिव समेत रहेको चौरसियाको गत ६ गते गाउँपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी गम्भिर घाईते भएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्यु पश्चात घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउँन खोज्दा प्रहरी उपरिक्षक गंगा पन्तले उजुरी दर्ता नगरेपनि विगत पाँच दिनदेखि मृतक चौरसियाका आफन्त र नेकपाका नेता कार्यकर्ताहरु आन्दोलन भएका थिए ।

मंगलबार बिहान ११ बजेदेखि जिल्ला प्रहरी कार्यालय अगाडी उपस्थित भएर मृतकका आफन्त र नेकपाका नेता कार्यकर्ताहरुले १ घण्टा मौन धारण त्यसपछि प्रहरी उपरिक्षक पन्त विरुद्ध चर्को नाराबाजी गर्दै उनको पुतला समेत दहन गरी विरोध जनाएका हुन् ।

हाम्रो मुद्धा दर्ता गर, हत्यारालाई कारवाही गर, मृतकलाई शहीद घोषणा गर, निकम्मा प्रहरी प्रशासन मुर्दावाद, हाम्रो आन्दोलन जारी छ, एसपी महारानी साहिबा मुर्दाबाद लगायतका नारा लगाउँदै सयौँको उपस्थितीमा विरोध प्रदर्शन गरिएको अनेरास्वविका जिल्ला सह ईन्चार्ज मित्रदेव प्रसाद यादवले बताए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साका जिल्ला सचिब विजय महतोको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा जिल्ला ईन्चार्ज रामचन्द्र साह, नेकपाका नेताहरु छोटेलाल यादब, बालगोपाल थापा, बालेश्वर थारु, रहबर अन्सारी, मनोज चौधरी, अरुण यादव, मालती कुश्वाह लगायतको उपस्थिती रहेको थियो ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले प्रहरी उपरिक्षक पन्त प्रधानमन्त्री केपी ओली शर्माको दबाबमा मुद्दा दर्ता नगरेको भन्दै तत्काल एसपीले मुद्दा दर्ता नगरे देशभरी नै आन्दोलन चर्कोउँने चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्