भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान गरिने



काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरिएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले भारतीय सेनाध्यक्ष नरवणे यही कात्तिक १९ गते नेपाल आउँदैछन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द (एमएम) नरवणे चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेका निर्देशनालयले एक विज्ञप्ति जारी गरी जनाएको छ । तीन दिवसीय भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर सैनिक स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि नेपाली सेनाको जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणकै क्रममा नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोह बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले उल्लेख गरेको छ । यस्तै उनले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्ष कात्तिक २१ गते स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्