चोरीको आशंकामा वडाध्यक्षले एक दलित युवकलाई कुटपिट गरेको आरोप



जनकपुरधाम– सर्लाहीमा एकजना वडाध्यक्षले मेला हेर्न गएका एक दलित युवकलाई चोरीको आशंकामा मरनासन्न हुनेगरि कुटपिट गरेको आरोप लगाइएको छ ।

ईश्वरपुर नगरपालिका–९ का वडाध्यक्ष अमिरिलाल साह तथा स्थानीयहरु रामचन्द्र सुडी र भरत महतो सुडी मिलेर गत सोमबार राती मेला हेर्न गएका सोही नगरपालिका रामनगरका एक दलित युवकलाई कुटपिट गरेको दलित अगुवा पच्चु माझीले जानकारी दिए ।

स्थानीय १९ वर्षीय गोविन्द माझीलाई चोरीको आशंकामा चोर चोर भनी कानुन हातमा लिई हात खुट्टा बाँधी अशोकको रुखमा झुण्डयाएर कुटपिट गर्नुका साथै करेन्ट समेत लगाइएको उनले बताए ।

सोमबार राती गाउँमै दुर्गा मेलामा नाच हेर्न गएका सो युवकलाई नाच भईरहेको स्थानको छेउमै रहेको स्थानीय सुरेश महतोको खेतमा शौच गरिरहेको अवस्थामा उनका छोरा गौरी महतोले हेरेपछि चोर हो भन्दै पक्राउ गरेर कुटपिट गरेका थिए । भोलीपल्ट घटना मिलाउनुको सट्टा वडाध्यक्ष साहले पनि हात खुट्टा बाँधेर मरनासन्न हुनेगरि आफुलाई कुटपिट गरेको पीडित गोविन्दले बताए ।

वडाध्यक्ष साहलगायतका व्यक्तिहरुले ति युवकको हात खुट्टा बाँधेर, पैतालामा सुई घोंच्दै करेन्ट लगाएर मरनासन्न हुनेगरि कुटपिट गरेको दलित अगुवा माझीले जानकारी दिएका छन् । आफ्नो छोरालाई कुटपिट नगर्न आमाले आग्रह गर्दा वडाध्यक्षले उनको आमालाई समेत लातले हिर्काएको उनले बताए ।

यता, वडाध्यक्ष साहले सोमबार राती गाउँका अधिकांश घरका पुरुषहरु नाच हेर्न घर बाहिर गएको समयमा ति युवक स्थानीय सुरेश महतोको घरमा चोरी गर्ने मनसायले प्रवेश गरिरहेको अवस्थामा पक्राउ परेकोले उनलाई स्थानीयले कुटपिट गरेको बताएका छन् । उनले आफ्नो वडामा विगत ३ महिनाको अवधिमा १४ वटा चोरीका घटनाहरु घटेको र सोही क्रममा ति युवक पक्राउ परेको दाबी गरेका छन् । ति युवकले आफु चोरी गर्ने मनसायले सुरेश महतोको घरमा गएको कुरा समेत स्विकार गरिसकेको वडाध्यक्ष साहले बताए । कुटपिट गरिएका युवकको हातबाट सोही राती फलामको रड र टर्च समेत बरामद भएको उनले जानकारी दिए ।

कुटपिट गरिएका युवक माझीको अहिले गम्भीर अवस्थामा बयलबाँसस्थित पोलिक्लिनीकमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्