प्रहरीको गोली लागेर बारामा १४ वर्षीय बालक गम्भीर घाइते



वीरगञ्ज : बारामा तस्कर र प्रहरीबीच भएको झडपमा गोली लागेर एक बालक गम्भीर घाइते भएका छन् ।

बाराको सुवर्ण गाउँपालिका–२ कबहीगोठमा बुधबार राति तस्कर र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर कबहीगोठका चन्देश्वर यादवका १४ वर्षीय छोरा रन्जन यादव गम्भीर घाइते भएका हुन् ।

टाउकोमा गोली लागेर गम्भीर भएका रन्जनको वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै झडपमा तस्करलाई सघाउने स्थानीयको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षकसहित ३ जना प्रहरी पनि घाइते भएका छन् ।

स्थानीयको ढुंगाुमढाबाट घाइते हुनेमा प्रहरी नायव निरीक्षक वीरेन्द्र गिरी, एक जना हवल्दार र एक जना जवान रहेका छन् भने उनीहरु तीनै जनाको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

घाइते प्रहरीमध्ये प्रहरी नायव निरीक्षक गिरीको अवस्था भने गम्भीर रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

भारतबाट राजश्व छलेर ल्याइएका आठ बोरा प्याजसहितका ४ वटा मोटरसाइकल सोमबार साँझ इलाका प्रहरी कार्यालय कबहीगोठले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको तस्करीको प्याज बुधबार बेलुकी कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा तस्कर र स्थानीयले प्रहरीमाथि आक्रमण गर्दै प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि झडप भएको हो ।

स्थिति निन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा सडक छेउमा रहेका रन्जनको टाउकोमा गोली लागेको हो ।

प्रहरी निरीक्षक यादवका अनुसार स्थिति निन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर गर्दा हुलुमुलमा परेका बालक रन्जनलाई गोलीको छर्रा लागेको बताएका हो ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्