इण्डियन प्रिमियर लिग : राजस्थानसँग मुम्बई पराजित



काठमाडौं : राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। शनिबार सम्पन्न पहिलो खेलमा घरेलु टोली मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गर्दै राजस्थानले दोस्रो जित निकालेको हो।

वान्खाडे क्रिकेट स्टेडियममा मुम्बईले दिएको १८८ रनको लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो। राजस्थानको जितमा जोस बट्लरले ८९ रनको अर्धशतकिय इनिङ्स खेले।

४३ बलको सामना गरेका बट्लरले ८ चौंका र ७ छक्का प्रहार गरेका थिए। यस्तै अजिंक्या रहाणेले ३७ तथा सन्जु सामसनले ३१ रन बनाए। मुम्बईका हार्दिक पाण्डयले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभर खेल्दै ५ विकेट गुमाएर १८७ रन बनाएको थियो। मुम्बईका लागि क्विनटन डी ककले ८१ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ५२ बलमा ६ चौंका र ४ छक्का हिर्काएका थिए।

त्यस्तै कप्तान रोहित शर्माले ४७ रन जोड्दा हार्दिक पाण्डयाले अविजित २८ रन बनाए। राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए। जितसंगै राजस्थानले ७ खेलबाट ४ अंक जोडेको छ।  राजस्थान लिगमा पुछारबाट दोस्रो स्थानमा छ। मुम्बई ७ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्