पूर्वसांसद राजकुमार गुप्ताउपर ज्यान मुद्दा दर्ता



वीरगञ्ज : नेकपाका जिल्ला सदस्य मुकेश चौरसियाको हत्या आरोपमा नेकपाकै नेता तथा पूर्वसांसद राजकुमार गुप्तासमेतउपर जाहेरी दरखास्त दर्ता भएको छ ।

चौरसिया परिवारले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानेपछि बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले पीडित परिवारको तर्फबाट प्राप्त जाहेरी दर्ता गरी पत्रसहित आवश्यक कारबाही तथा अनुसन्धानका लागि पर्सा जिल्ला प्रहरी कार्यालयमा पठाएको पर्सा जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सम्बन्धित प्रहरी कार्यालयले दर्ता नगरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता गर्ने कानुनी प्रावधान छ । नयाँ मुलुकी फौजदारी संहितमा यो व्यवस्था भएपछि पीडित परिवारले यही व्यवस्थाअनुसार जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिएका हुन् । यद्यपि वीरगञ्जमा स्थानीय प्रहरी प्रशासनविरुद्ध विरोध प्रदर्शन जारी छ ।

पर्साको विन्ध्यवासिनी गाउँपालिकास्तरीय नेकपाको गाउँ कमिटीको शपथग्रहण कार्यक्रममा नेकपाकै अर्का समूहले आक्रमण गरेपछि सख्त घाइते भएका चौरसियाको अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो । चौरसिया गाउँ कमिटीको सचिवमा चयन भएका थिए । गाउँ कमिटीमा पराजित अर्काे समूहले चौरसियामाथि आक्रमण गरेका थिए ।

चौरसिया परिवारले पूर्वसांसद गुप्ताकै निर्देशनमा हत्या भएको आरोप लगाउँदै आएको छ । गुप्तालाई मुख्य आरोपी बनाएर पीडित परिवारले ल्याएको जाहेरी पर्सा प्रहरीले दर्ता गर्न इन्कार गरेको थियो । गुप्ताको नाम हटाएर ल्याए मात्रै जाहेरी दर्ता गर्ने भन्दै पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जाहेरी फिर्ता गरेकी थिइन । त्यसपछि प्रहरी प्रशासनको विरोधमा वीरगञ्जमा केही दिनदेखि निरन्तर प्रदर्शन हुँदैआएको छ ।

गुप्तालाई नेकपाकै केन्द्रका एक समूहले जोगाइरहेको भन्दै नेकपा प्रदेश २ का बहुमत केन्द्रीय सदस्यहरुले सार्वजनिक रुपमा विज्ञप्ति प्रकाशन गरेका थिए । उनीहरुले गुप्तासमेतउपर कारबाहीको माग गर्दै चौरसिया हत्या प्रकरणको छानबिनको माग गरेका थिए । विज्ञप्ति प्रकाशन गर्नेमा मातृका यादव, नागेन्द्र चौधरी, महेन्द्र पासवान र गोपाल ठाकुर लगायतका छन् ।

प्रतिक्रिया दिनुहोस्