दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने



काठमाडौं– दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान दिदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडियु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तर जनस्वास्थ्य विद्हरुले भने उपचारको तयारीसँगसँगै समूदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन् ।

दशैं सकिएसँगै यतिवेला देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका आउनेहरुको भिड बढेको छ । उपत्यका त्यसैपनि कोभिड संक्रमणको उच्च दर रहेको ठाउँ हो । विभिन्न ठाउँबाट आउनेहरुको संख्या बढेसँगै स्वभाविक रुपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ । सार्वजनिक यातायात मार्फत उपत्यका भित्रिनेहरुमा अझबढी संक्रमण हुन सक्ने सम्भावना पनि छ । यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आकलन गरेर सरकारले पूर्व तयारी गरिसकेको बताए । हाइ डिपेन्डेन्सी युनिट र आइसोलेसन वार्डको तयारी गरिसकेको उनले बताए । संक्रमणको जोखिम कम गर्ने पहिलो दायित्व व्यक्ति स्वयंको भएकोले सरकारले कारबाही गर्छु भन्दै डर देखाएर जोखिम कमगर्न सक्दैन । यसैले व्यक्ति स्वयंले पनि काठमाडौं फर्किसकेपछाडि कम्तिमा एक हप्ता क्वारेन्टाइनमा बस्न सरकारले अनुरोध गरेको पनि प्रवक्ता गौतमले बताए ।

जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले भने दशैंमा घरबाट फर्किएर काठमाडौं आउनेहरुबाट संक्रमण फैलने भन्दा उपत्यका भित्र रहेकाबाट नै संक्रमण फैलने सम्भावना बढी रहेको बताए । गाउँ भन्दा काठमाडौं उपत्यकामा नै संक्रमण उच्च भएकोले बाहिरबाट आउनेहरु नै जोगिनुपर्ने बताए । काठमाडौंमा संक्रमणमा नपर्नका लागि नियमित रुपमा मास्क लगाउने, दुरी कायम गर्ने र भिडभाडमा नजाने गर्नुपर्ने हुन्छ । जाडो मौसममा घर भित्र खुला वातावरण नहुने भएकाले पनि धेरै सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ । जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई जोगाउनका लागि घर भित्रै पनि अनिवार्य मास्क लगाउनुपर्नेमा उनले जोड दिए । आफू बाहेक अरु सबै संक्रमित छन भन्ने सोच बनाई सावधानी अपनाउन डा. दिक्षितको आग्रह छ । यस्तै राज्यले पीसीआर परीक्षणलाई अझ व्यापक बनाउनुपर्ने उनले बताए । जाडो मौसम रुघाखोकी लाग्ने समय भएकाले पनि मौषमी रुघा खोकी हो वा कोरोना हो छुट्याउन समुदायस्तरमा नै निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था राज्यले गर्नुपर्ने उनको भनाई छ ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन विभिन्न माध्यमबाट जनतालाई सचेत गराएपनि जनता स्वयंले यसको कठोर पालना नगर्दा संक्रमणको दर बढीरहेको छ । युरोपिएन मुलुकहरुमा संक्रमण दोहोरिएर भइरहेको घटनालाई पनि सरकार र जनता दुवैले हेरेर सतर्कता अपानुको विकल्प छैन् ।

प्रतिक्रिया दिनुहोस्