खाद्य संस्थानलाई चामल बिक्री गर्न समस्या



धनगढी : बजार भाउभन्दा बढी मूल्य पर्न थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गरिने चामल बिक्री गर्न समस्या हुनेगरेको छ ।

खाद्यान्न अभाव हुने सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ र अछामलगायत जिल्लामा आपूर्ति गर्ने गरिएको चामलको मूल्य बजार भाउभन्दा बढी हुने गरेपछि बिक्री हुन नसकी खपत हुन नसकेको हो । कम्पनीको प्रादेशिक कार्यालय धनगढी (साविक नेपाल खाद्य संस्थान) अन्तर्गतका शाखा कार्यालयमा आपूर्ति हुने गरेको चामलको खपत हुन नसकेपनि तोकिएको कोटा अनुसारको चामल वर्षेनी आपूर्ति गर्ने गरिएको छ ।

बिक्री मूल्य बढी हुँदा पछिल्ला वर्षमा कम्पनीको चामलको माग घट्दै गएको बताइएको छ । कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रमुख अनिल श्रेष्ठले बढी मूल्य निर्धारण हुँदा कम्पनीले आपूर्ति गर्ने गरेको चामल त्यति खपत नभइरहेको बताए । “बजारमा सस्तोमा चामल पाउँदा कम्पनीको चामल बिक्री गर्नै मुश्किल भयो”, उनले भने, “सरकारले ढुवानीमा मात्र नभई चामल बिक्रीमा समेत अनुदानको व्यवस्था गर्न सकेमा बजार मूल्यसँग प्रतिस्पर्धा गर्न सकिने भई कम्पनीको चामलबाट जनताले पनि राहत पाउन सक्नेछन् ।”

उत्पादन लागत मूल्यका आधारमा सरकारले यो चामलको बिक्री मूल्य निर्धारण गर्ने गरेको जनाइएको छ । कार्यालयको तथ्याङकअनुसार आपूर्ति गरिएको चामलमध्ये बाजुरास्थित शाखा कार्यालयमा ५७४ क्वीन्टल, बझाङ शाखामा १४२ क्वीन्टल, अछामको मंगलसेन शाखामा ४११ क्वीन्टल, दार्चुलाको खण्डेश्वरीमा झण्डै १० क्वीन्टल चामल बिक्री हुन नसकेर मौज्दात रहेको छ ।

चालू वर्षमा खण्डेश्वरीमा थप ३८० क्वीन्टल चामल आपूर्ति गरिएकोमा योमध्ये ५० क्वीन्टल बिक्री हुन सकेको छ । बझाङ सदरमुकाममा गएको चार महिनामा ३० क्वीन्टल चामल बिक्री भएको छ । अछाममा गत वर्षको ५७९ क्वीन्टल मौज्दात रहेकोमा यो वर्ष थप ४४३ क्वीन्टल आपूर्ति गरिएको छ । यो मध्ये ६१२ क्वीन्टल मात्र बिक्री हुन सकेको छ । कम्पनीको चामल बजार मूल्यभन्दा महङ्गो प्रति किलो रु ४८ मा बिक्री मूल्य निर्धारण हुँदा खपत हुन नसक्ने समस्या देखिएको कम्पनीका बझाङ शाखा कार्यालयका प्रमुख ईश्वरी पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्