चितवनमा दुईजना कोरोना संक्रमितको मृत्यु



चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

चितवनको रत्ननगरपालिका–९ का ८८ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको हो ।

अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीका अनुसार उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित उनी कात्तिक ११ गते अस्पतालमा भर्ना भएका थिए । उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अस्पतालको कोभिड आईसियु कक्षमा उपचार भइरहेको थियो ।

यसैगरी रुपन्देहीको जिल्ला बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय पुरुषको बिहीबार राति कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनको गएराति ११ बजेर ४७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा ज्वरो, उच्च रक्तचाप र श्वास प्रश्वासको समस्यालगायतका लक्षण देखिएको डा. अधिकारीले बताए ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्