समय सकिएपछि सडक निर्माणको काम थालियो



ओखलढुङ्गा : ओखलढुङ्गा–रामपुर–लप्सेखोला सडक निर्माणको थपिएको समय पनि सकिएपछि डिबिएसटी कालोपत्रे गर्न शुरु गरिएको छ । सडक कालोपत्रे गर्ने अन्तिम समयसीमा गत असोज २९ गते नै सकिएपछि ठेकेदारले बल्ल कालोपत्रेको काम थालेको हो । हाल ओखलढुङ्गा सदरमुकामको नयाँबजार आसपासबाट सडकमा कालोपत्रेको प्राइमकोट बिछ्याउने काम शुरु गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको भूकम्प आपतकालीन सहायता आयोजनाअन्तर्गत निर्माण भइरहेको सो सडकको १६ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । २३.६२ किलोमिटर लामो सडकमा ७.६२ किलोमिटर क्षेत्रमा ग्राभेल गर्ने प्राबिधिक अनुमान रहेको छ । विसं २०७५ असार २७ मा भ्याटसहित रु २९ करोड ९९ लाख ६० हजार १०३ लागतमा सम्पन्न गर्नेगरी गौरी पार्वती निर्माण सेवा प्रालिले कालोपत्रे गर्ने कामको जिम्मा लिए पनि समयमै काम सकेको थिएन । ठेक्का लागेको १८ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि काम नसिकएपछि विभिन्न चरणमा समयसीमा थपिएको थियो ।

पछिल्लो समयमा भने लकडाउन र वर्षाका कारण काम प्रभावति भएको थियो । अहिले सो सडकमा कालोपत्रे गर्ने काम अगाडि बढाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इन्जिनयर सरोज केसीले बताए । दसैँअघि नै सो सडकको ४ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने तयारी गरिएको भए पनि दशैंको समयमा लक्ष्य अनुसारका काम गर्न नसकिएको उनको भनाइ छ ।

दशैंमा पनि लगातार काम गरेर तयारी गरिएको क्षेत्रमा ग्राभेल बिछ्याउने र बेस कोर्ष तयारी गर्ने काम भएको उनले बताए । सडक निर्माणको समयसीमा सकिएकाले थप गर्नका लागि पहल भइरहेको छ । आउँदो मङ्सिरसम्म सडक निर्माणको काम नसकिए पुसमाघमा चीसो बढ्ने र कालोपत्रे नबस्ने समस्याले चैतसम्मै पर्खनुपर्ने प्रावधिकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्