मल्कवाङ सडक सञ्जालमा जोडियो



म्याग्दी : म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–५ मल्कवाङ सडक सञ्जालमा जोडिएको छ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, म्याग्दीले मराङको बँेशीदेखि आरवाङ–हाङबाङ हुँदै मल्कवाङ जोड्ने सडक निर्माण गरेको हो ।

मल्कबाङका अमर छन्त्यालले सडकको ट्र्याक खुलेपछि जीप, ट्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेको बताउनुभयो । अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोवास रहेको मल्कवाङमा यसअघि सडक यातायात सुविधा थिएन् ।

आवतजावतका लागि भीर, जङ्गल र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्दथ्यो । ढुवानीका लागि घोडा, खच्चर र भरियामा निर्भर थिए ।

यातायातका साधन सञ्चालन हुन थालेपछि आवतजावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीमा सहज भएको छ । मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगङ्गा गाउँपालिकाको कुइनेखानीका करिब पाँच सय घरधुरी लाभान्वित भएका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताए ।

यो सडकले मराङको आरवाङ, रिखा, घण्टीवाङ, हाङवाङका डेढ सय घरधुरीलाई पनि सुविधा पुगेको छ । बेँशीदेखि पैदलयात्रा गरेर मल्कवाङ पुग्न दुई घण्टा लाग्दथ्यो । गाडीबाट तीस मिनेटमै पुगिन्छ । यात्राअवधि छोटिएको र ढुवानीको भाडा घटेको छ । बिरामीलाई अस्पताल पु¥याउन सजिलो भएको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार बेँशीदेखि मल्कवाङ जोड्ने सडकको दूरी ११ किलोमिटर छ । आर्थिक वर्ष २०७५र७६ मा विनियोजन भएको रु ८० लाख बजेटबाट उपभोक्ता समितिले बेँशीदेखि आरवाङ हुँदै मल्कवाङका सिमानासम्म सडक खनेका थिए ।

कार्यालयका सव इञ्जिनीयर घनश्याम रोकाले २०७६/७७ मा रु ७२ लाख ७ हजारमा ठेक्का सम्झौता गरेको अर्गेजा कन्ट्रक्सनले दुई हजार ७०० मिटर सडकको नयाँ ट्र्याक खनेको जानकारी दिए ।

“गत असारमा खनिएको सडकमा खसेको पहिरो पन्छाएर यातायातका साधन सञ्चालन भए पनि ठेक्का सम्झौता अनुसार ६६ प्रतिशत प्रगति भएको छ”, उनले भने, “यस वर्ष मल्कवाङदेखि भेडिखाल्टा जोड्ने सडक निर्माणका लागि विनियोजन भएको रु एक करोड २५ लाख बजेटको ठेक्का आह्वान भइसकेको छ ।”

रघुगङ्गा गाउँपालिकाको पाखापानी– ठाडाखानी हुँदै भेडिखाल्टाको नजिकै सडक पुगिसकेको छ । मल्कवाङदेखि भेडिखाल्टा गाउँ जोडिएपछि यो सडक म्याग्दीको पाँच वटा स्थानीय तहलाई जोड्ने चक्रपथ बन्ने बताइएको छ । सातवटा वडा रहेको धवलागिरि गाउँपालिकाको गुर्जा बाहेकका वडाको भूगोल सडक सञ्जालमा जोडिएका छन् । वडा न ४ मुदीमा पनि हालै सडक यातायात सुविधा पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्