तरकारी खेतीबाट जीवन सुधार : वार्षिक ८ लाख आम्दानी



म्याग्दी : सीप र जाँगर भए पैसा कमाउन विदेश जानु पर्दैन, आफ्नै गाउँघरमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् म्याग्दीको बेनी नगरपालिका २ रोहोटेका शोभित शर्माले ।

जिल्ला सदरमुकाम बेनीबजार सँगै जोडिएको बेनी नगरपालिका २ का शर्माले खबरा र रोहोटेमा  व्यावसायिक तरकारी खेतीबाट वार्षिक ८ लाख रुपैयाँ भन्दा बढि कमाइ गर्दै आएका छन् । 

२०५२ सालदेखि व्यावसायिक तरकारी खेतीमा लागेका ४३ वर्षिय शर्माको जीवन स्तर तरकारी खेतीबाट नै बदलिएको छ । २० वर्ष अघिसम्म के खाउँ र के लाउँको अवस्थामा रहेका शर्माले यो २३ वर्षको अवधिमा ठाउँठाउँमा घर घडेरी र प्रशस्त जमिनको मालिक वन्नुका साथै सदरमुकाम बेनीका वैंक तथा वित्तिय संस्थाहरुमा लाखौं रुपैयाँ वचत समेत गरेका छन् । 

सुरुमा ३ रोपनी जग्गाबाट तरकारी खेती शुरु गरेका शर्माले अहिले १२ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती र ३८ रोपनीमा बाख्राका लागि घाँस उत्पादन तथा फलफूल खेती समेत गर्दै आएका छन् । 

सापकोटा कृषि फार्म स्थापना गरेर प्राङ्गारिक तरकारी खेती गर्दै आएका शर्माले उत्पादन गरेको तरकारीको माग बजारमा उच्च छ । आग्र्यानिक पद्यतीद्धारा व्यावसायिक तरकारी खेतीमा लागेका शर्मा जिल्लाका अगुवा कृषक हुुन् ।

शर्माको तरकारी खेती र त्यबाट प्राप्त हुने आम्दानी देखेर खवराका सवै किसानहरु तरकारी र फलफूल खेतीमा लागेका छन् । ‘अहिले खबराको गाउँ नै तरकारी र फलफूलको गाउँ भएको छ’ अगुवा कृषक शर्माले भने, ‘तरकारी र फलफूल बेचेर यहाँका सबै किसानले वार्षिक २ देखि ८ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

उर्वर माटोमा गाईभैंसीको मलबाट कीटनाशक औषधि प्रयोग नगरी उत्पादन गरिएको गोलभँेडा, सिमी, केराउ, साग, काउली, मुलालगायतका तरकारी उत्पादन गरी नजिकैको बजारमा लगेर राम्रो भाउमा बिक्री वितरण गर्न पाउँदा खवराका किसानहरू दङ्ग छन् ।

कृषि ज्ञान केन्द्रलगायत विभिन्न संघ संस्थाले गाउँमा कृषक समूह गठन गरी गरिब किसानलाई तरकारी खेती गर्ने तालिम, बीउबीजन दिएपछि अहिले यस गाउँका किसानको जीवनस्तर माथि उठ्दै गएको छ ।

बेमौसममा समेत राम्रो किसिमले खेती गर्न टनेल (प्लास्टिक घर) बनाइदिएपछि किसानहरूले बोटैभरि लटरम्म गोलभेँडा फलाउन सफल भएका छन् ।    प्रतिकेजी रु.४५ देखि रु.८० सम्म गोलभेँडा बिक्री वितरण गरेर तुरुन्तै नगद हातमा पार्न सफल भएपछि रोजगारीको लागि विदेश गएका आफ्नो छोराभतिजालाई समेत आफ्नै गाउँ फर्कन खबर गरेको अगुवा कृषक शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्