आजदेखि कात्तिक स्नान र आकाशदीप दान शुरु



काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको दिन शुरु भएको टीका जमारा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमादेखि शुरु हुने कात्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना शनिबारदेखि शुरु भएको छ ।

आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राति जाग्राम बसेसँगै औपचारिक रुपमा बडा दशैंको समापन हुन्छ । यसैगरी आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

लक्ष्मीपुजा भन्दा ठिक १५ दिनअघि यस आराधना गरिन्छ, यसरी दिप बनाँउदा बाँसको लामो लिंगोलाई त्यसको टुप्पामा कागज लगायतले बेरेर त्यहाँ बत्ति बाल्ने अनि ठड्याउने चलन छ । यी बत्तिहरु श्री हरिको समर्पणमा बालिन्छ । यसरी आकाशतर्फ ठड्याएर बालिएका बत्तिहरु हरेक घरका आँगनमा राखिन्छन्, यसरी नक्षत्रतर्फ ठड्याइएका बत्तिहरुका लस्करले समग्र गाँउनै दुधिलो प्रकाशमा रंगीएको देखिन्छ । यि बत्तिहरुलाई आकाशेबत्ति भनिन्छ । आजका दिन आकाशेदीप प्रज्वलन गरिने दिन पनि हो, यस पूर्णिमालाई कौमुदी पूर्णिमा भनिन्छ । यसरी दुधिलो प्रकाश मुनी बसेर जुवातास खेल्ने चलन पनि आजको दिन प्राचिन कालबाटै शुरु भएको मानिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म स्नान गरि घरघरमा विशेष रुपमा विधीविधान पुर्याएर गरिने तुलसीपूजा पनि आजैदेखि शुरु भएको छ । यसरी कात्तिक स्नानको शुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नु पर्ने मान्यता छ ।

कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान समेत गर्ने गरिन्छ ।

कात्तिक स्नानको शुरुवात, आकाशेदिप प्रज्वलन आजबाट शुरु भयो, मुख्यतया दुर्गा पक्षको समापनलाई दर्शाउने आजको दिनमा दुर्गाको लक्ष्मी स्वरुपको अर्चना गरिँदै जाग्राम गरेर भजन किर्तन गर्दै मनाइन्छ ।

आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको छ ।

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्